प्रधानमन्त्री कप फुटबल : लाओस विरुद्ध खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत ८ गते १०:०४
प्रधानमन्त्री  कप फुटबल : लाओस विरुद्ध खेल्दै नेपाल
काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपको उद्घाटन खेलमा बुधबार लाओसविरुद्धकाे खेलमा नेपाल घरेलु मैदानमा सुखद नतिजाको लक्ष्यमा हुनेछ ।

नेपाली टिम लाओसविरुद्ध हालसम्म अपराजित छ । नेपाल र लाओसबीच यसअघि भएको दुई खेलमध्ये नेपालले एकमा जित निकाल्दा अर्को खेलमा भने बराबरी खेलेको थियो । यी दुई टिमबीचको पछिल्लो खेल सन् २०१६ को नोभेम्बरमा भएको सोलिडारिटी कपमा भएको थियो । उक्त खेलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको थियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालभन्दा लाओस १२ स्थान पछि छ ।

यो खेलसँगै नेपाली टिमका नयाँ प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले नेपालमा प्रशिक्षणको यात्रा सुरु गर्नेछन् । एनेसले लाओसविरुद्ध खेल्नुअघि फिफा वरीयताले खेलमा फरक नपार्ने प्रतिकृया दिएका थिए ।

“वरीयता ठूलो कुरा होइन । दुई वर्षअघि बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा थियो । तर, मेरो लागि बेल्जियमभन्दा ३० टिमहरू १० गुणा राम्रा थिए । त्यसैले वरीयता केही होइन । महत्वपूर्ण कुरा खेल जित्नु हो । र, हामी प्रतियोगिता जित्ने प्रयास गर्नेछैँ,” एनेसले भने, “हामीलाई लाओसको क्षमता थाहा छ । तर, हामीलाई हाम्रो क्षमतामा विश्वास छ । भोलिको खेलका लागि हामी सकेभन्दा उत्कृष्ट तयारी गर्ने प्रयासमा छौँ । मैले पहिलो पटक एसियाली राष्ट्रको राष्ट्रिय टिम हेर्ने अवसर पाएको हुँ । म यहाँ नयाँ छु । त्यसैले आशा र क्षमता खेलबाट थाहा हुनेछ ।”

यस्तै, नेपाली टिमका कप्तान किरणकुमार लिम्बूले नेपाली टिम प्रतियोगिताका लागि तयार रहेको बताए ।

“तयारीका लागि छोटो समय पायौँ । जुन आफैमा निकै चुनौतीपूर्ण छ । लिगको ब्रेकमा प्रतियोगिता रहेकाले खेलाडीहरू शारीरिक रुपमा पूर्ण फिट छन् । अहिले हामीले मानसिक तयारी गर्नमात्र आवश्यक छ । किनकी यो त्रिदेशीय कपका लागि हामीले थोरै समय पायौँ । हामीले एक–अर्कालाई विश्वास गर्न आवश्यक छ । प्रशिक्षकले सानो समय पाए । तर, हामी प्रतियोगिता र बुधबारको खेलका लागि तयार छौं,” किरणले भने ।

यस्तै, लाओसका कप्तान सौकाफोन भिङ्चियाङखामले आफ्नो टिम प्रतियोगितामार्फत लाओसको फुटबल प्रस्तुत गर्न उत्साहित रहेको बताएका थिए ।

“पछिल्लो पटक नेपाली टिमसँग खेल्दा र अहिलेको टोलीमा धेरै परिवर्तन छ । नयाँ प्रशिक्षक छन् । र, टिममा पूर्णतया युवा खेलाडीहरु छन् । भोङ्चियाङखामले भने, “पहिलो पटक नेपालमा खेल्न उत्साहित छौं । हामी लाओसको फुटबल देखाउँन चाहन्छौं ।”

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागी छन् । आजको खेलपछि चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ ।

प्रतियोगिताका  लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ ।

प्रतियोगिताको विजेताले पाँच हजार डलर र उपविजेताले तीन हजार डलर पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले २५० डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५०० डलर पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७९ चैत ८ गते १०:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI