आगलागीको सम्भावित क्षति रोक्न प्रगतिनगर खानेपानीको “फायर हाईड्रेण्ट”

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २३ गते १९:५२
आगलागीको सम्भावित क्षति रोक्न प्रगतिनगर खानेपानीको “फायर हाईड्रेण्ट”

कावासोती । आगलागीको सम्भावित क्षती तथा जोखिम रोक्नका लागी नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सेवा क्षेत्र भित्र “फायर हाईड्रेण्ट” जडानको काम लाई अगाडी बढाएको छ ।

गत वर्ष २ वटा “फायर हाईड्रेण्ट” जडान गरेको संस्थाले यस वर्ष थप ४ वटा “फायर हाईड्रेण्ट” जडान गरेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनु भयो ।

सेवा क्षेत्र भित्र आगलागी भएर विपतको अवस्था आए तत्काल दमकलले पानी भरेर समयमा आगो नियन्त्रण गरि क्षति न्यूनिकरण गर्न सकियोस भन्ने उद्धेश्यले फायर हाइड्रेण्ट जडानको कामलाई संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत  अभियानकै रुपमा अगाडी बढाईएको अध्यक्ष भुसालले बताउनुभयो ।  यसरी जडान गरिएको फायर हाइड्रेण्टबाट दमकललाई आवश्यक पर्दा पानी भर्न सहज हुने छ । अध्यक्ष भुसालका अनुसार संस्थाले सेवा क्षेत्र भित्रका धारापानी चोक, कैलाशचोक, धौलागिरी चोक दलदले चोक, शान्तिदिप चोक, पृथ्विनगर र सितावास पानी ट्याङ्कि परिसर गरेर ६ स्थानमा “फायर हाईड्रेण्ट” जडान गरिएको छ । आगलागी हुँदा दमकललाई आपतकालीन अवस्थामा पानी भर्न असुविधा हुँदा धेरै क्षती हुन सक्ने भएकाले जतिसक्दो छिटो दमकलालाई पानी उपलब्ध गराउन सक्ने गरि फायर हाइड्रेण्ट जडान गर्ने योजना अनुसार काम भइरहेको उहाँले बताउनुभयो । ‘हामीले यस योजनालाई हाम्रो सामाजिक उत्तरदायित्वका रुपमा समेत लिएका छौं सोही अनुसार काम गरिरहेका छौं ’ अध्यक्ष भुसालले भन्नुभयो । उहाँका अनुसार सेवा क्षेत्र भित्र आगलागी भएर निभाउने क्रममा दमकलको पानी सकिएमा ५ मिनेटको दुरीमा रहेका “फायर हाईड्रेण्ट” बाट पानी भर्न सकिने छ ।

२० हजार बढि जनसंख्या रहेको सेवा क्षेत्र भित्र आगलागी भएर सम्भावित जोखिम र क्षति बाट बचाउनका लागी संस्थाले आगामी वर्ष संस्थाको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत  थप “फायर हाईड्रेण्ट” हरु जडान गरिने बताउदैँ अध्यक्ष भुसालले अब नयाँ जडान गरिने “फायर हाईड्रेण्ट” नयाँ प्रविधिको हुने तथा आगलागी भएमा त्यसैमा जडान गरिएको पाईपको मद्धते पानी हाल्न सकिने गरि निर्माण गरिने बताउनु भयो ।

नवलपुरमा आगलागी भएमा आगो निभाउन जिल्लामा रहेको कावासोती नगरपालिकाको एक मात्र दमकलको प्रयोग गर्ने गरिएको छ भने छिमेकी जिल्ला चितवनको दमकल आईपुग्दा क्षतिले ठुलो रुप लिने गरेको छ । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आगलागीको सम्भावित क्षती तथा जोखिम रोक्न सुरु गरेको “फायर हाईड्रेण्ट” जडानले आगलागी बाट हुने सम्भावित क्षति रोक्न तथा कम गर्न सहज हुने जानकारहरु बताउछन ।

प्रकाशित : २०७९ चैत २३ गते १९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI