नेपाली भलिबलका स्टार मानबहादुरको सफलताको कथा

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ८ गते १४:०६
नेपाली भलिबलका स्टार मानबहादुरको सफलताको कथा

कावासोती । मानबहादुर श्रेष्ठ नेपाली भलिबलका स्टार खेलाडीमध्येका एक हुन् । तर उनको पहिलो रोजाइ भलिबल थिएन, क्रिकेटमा प्रेम थियो । केही समय फुटबल पनि खेले । अन्तिममा मन भलिबलमा बस्यो । आठ वर्षदेखि राष्ट्रिय टिममा रहेका मानबहादुर यही साउन १ गते कप्तानमा नियुक्त भएका छन् । उनलाई यति छिटै राष्ट्रिय टिमको नेतृत्व गर्ने अवसर पाउँछु भन्ने लागेकै थिएन ।

प्रधानमन्त्री कप एनभीए राष्टिय क्लब लिग भलिबल प्रतियोगिता अन्तर्गत गत असार २५ गते भएको त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीचको खेल तनावग्रस्त बन्यो । आर्मीका खेलाडीले दर्शक कुटेपछि भलिबल संघले तत्कालीन कप्तान हरिहजुर थापालाई अनुशासनको कारबाही गर्दै पदमुक्त गर्यो । आर्मीकै अन्य तीन खेलाडी पनि प्रतिबन्धमा परे । यो घटना स्पाइकर मानबहादुरका लागि भने सुनौलो अवसर सावित भयो । आर्मीबाटै घरेलु प्रतियोगिता खेल्ने उनले थापालाई प्रतिस्थापन गर्दै राष्टिय पुरुष टिमको जिम्मेवारी पाए ।

सन् २०१५ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनबाट सिनियर टिममा डेब्यू गरेका मानबहादुरले आफू यति छिट्टै कप्तान बन्छु भन्ने कल्पनासमेत नगरेको बताउँछन् ।

नवलपुरको कावासोतीमा जन्मिएका मानबहादुर क्रिकेट र फुटबल खेल्दै हुर्किएका हुन् । घरको सामान्य आर्थिक अवस्थाले उनलाई खेलमा लाग्ने सुविधा पनि दिँदैन थियो । तर शरीरको उचाइ बढ्दै गएपछि स्कुलमा शिक्षक र साथीहरुले भलिबल खेल्ने सुझाव दिन थाले । त्यहीबाट मानबहादुरको जीवन भलिबलतर्फ मोडियो ।

उतिबेलाको पश्चिमान्चल र अहिलेको गन्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने मानबाहदुरमाथि नेपाल पुलिस क्लबको नजर पर्यो । २०६९ सालदेखि दुई वर्ष पुलिसबाट खेलेका उनी २०७१ यता आर्मीमा छन् । २०७३-७४ को सिजनमा आर्मीको कप्तानी गरेका मानबहादुरले ६ प्रतियोगिताको उपाधि जिताए । त्यतिबेलै आर्मीलाई सर्वोत्कृष्ट टिम बनाउँदै आफैँ पनि सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनकै कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा काभा बीच भलिबलमा रजत जित्यो ।

मैदानभित्र र बाहिर दुवै स्थानमा रुचाइएका मानबहादुरको पहिलो परीक्षा १९ औं एसियाली खेलकुद हो । चीनमा असोजको पहिलो साता हुने एसियाड कप्तानका रुपमा उनको पहिलो प्रतियोगिता हुनेछ । पुरुष टिमका एघारौं कप्तान मानबहादुरको नेतृत्वमा राष्ट्रिय खेलले कस्तो प्रगति गर्ला, सबैको प्रतीक्षा छ ।

प्रकाशित : २०८० साउन ८ गते १४:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI