क्यूआर कोडबाट वाई-फाईको पासवर्ड थाहा पाउने सजिलो तरिका

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १३ गते १५:५३
क्यूआर कोडबाट वाई-फाईको पासवर्ड थाहा पाउने सजिलो तरिका

कावासोती  । पछिल्लो समय विभिन्न क्षेत्रमा क्यूआर कोडको प्रयोग व्यापक रूपमा बढेको छ । सामान खरिद गरिसकेपछि भुक्तानी गर्न होस् वा कुनै ठाउँको बारेमा जानकारी लिन, क्यूआर कोड स्क्यान गरे सबै जानकारी मोबाइलमा आइपुग्छ ।

वाई-फाई पासवर्डका सन्दर्भमा पनि क्यूआर कोड स्क्यान सामान्य भएको छ । पुरानो मोडेलका कतिपय स्मार्टफोनमा वाई-फाई पासवर्ड शेयर गर्ने सुविधा हुँदैन । तर, पछिल्लो समय बजारमा आएका अधिकांश स्मार्टफोनमा क्यूआर स्क्यान गर्ने सुविधा दिइएको हुन्छ ।

क्यूआर कोड स्क्यान गरेर वाई-फाई कनेक्ट हुने सुविधा सबै डिभाइसमा नहुन सक्छ । त्यसैले आज हामी वाई-फाईको क्यूआर कोडबाट पासवर्ड कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

गुगल लेन्सको प्रयोग

कतिपय डिभाइसमा सोझै वाई-फाईको सेटिङमा हुने स्क्यानरको अप्सनमा गई क्यूआर कोड स्क्यान गर्दा सजिलै वाई-फाई कनेक्ट गर्न सकिन्छ ।

त्यस्तै कतिपय डिभाइसको क्यामेरामा पनि क्यूआर स्क्यान गर्ने सुविधा दिइएको हुन्छ । त्यसबाट पनि सजिलै क्यूआर कोड स्क्यान गरी वाई-फाई कनेक्ट गर्न सकिन्छ । तर, सबै डिभाइसमा यस्तो सुविधा हुँदैन ।

माथि उल्लेखित फिचर नभएका डिभाइसमा तपाईंले गुगल लेन्स प्रयोग गरी क्यूआर स्क्यान गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

– सबैभन्दा पहिले डिभाइस इन्टरनेटमा कनेक्ट भएको हुनुपर्छ । त्यसका लागि डेटा अन गर्न सक्नुहुन्छ । त्यसबाहेक पनि वाई-फाईको पासवर्ड शेयर गर्नेको मोबाइलमा वाई-फाई कनेक्ट छ भने त्यसैको प्रयोग गरेर पनि पासवर्ड थाहा पाउन सक्नुहुन्छ ।

– मोबाइलमा इन्टरनेट कनेक्ट भइसकेपछि तपाईंको फोनमा भएको गुगल लेन्समा जानुहोस् । (गुगलको विजेटमा पनि लेन्सको अप्सन हुन्छ ।

– त्यसपछि आफूले स्क्यान गर्न चाहेको पासवर्ड छान्नुहोस् ।

– त्यति भयो भने उक्त वाई-फाई नेटवर्कको पासवर्ड तल देखिन्छ ।

– त्यसपछि सोही पासवर्ड राखेर वाई-फाई कनेक्ट गर्न सक्नुहुन्छ ।

स्क्यानर एपको प्रयोग 

इन्टरनेटमा कनेक्ट नभएको अवस्थामा तपाईंले स्क्यानर एपको प्रयोग गरी क्यूआर स्क्यान गर्नुपर्ने हुन्छ । तर, यसका लागि तपाईंले पहिले नै डिभाइसमा स्क्यानर एप इन्स्टल गरेको हुनुपर्छ ।

यदि तपाईंको डिभाइसमा स्क्यानरको अप्सन वा एप छ भने कुनै एप इन्स्टल गर्नु पर्दैन । यदि छैन भने यहाँ क्लिक गरी एप इन्स्टल गरेर राख्नुहोस् । सबै किसिमका क्यूआर कोड स्क्यान गर्ने भएकाले पछिका लागि पनि तपाईंलाई यो एप उपयोगी हुनसक्छ ।

एप डिभाइसमा इन्स्टल भइसकेपछि तलको प्रक्रिया अपनाएर वाई-फाईको पासवर्ड थाहा पाउन सक्नुहुन्छ ।

– सबैभन्दा पहिले क्यूआर स्क्यानर एप खोल्नुहोस् ।

– यदि अर्को डिभाइसमा क्यूआर कोड छ भने आफ्नो डिभाइस क्यूआर कोड भएको डिभाइसमाथि लगि स्क्यान गर्नुहोस् ।

– तर, क्यूआर कोडको फोटो तपाईंको ग्यालरीमा छ भने एप खोल्ने बित्तिकै माथि देखिने ग्यालरीको अप्सनमा ट्याप गर्नुहोस् । अनि आफूले स्क्यान गर्नुपर्ने क्यूआर कोड छान्नुहोस् । यति गरेपछि उक्त वाई-फाईको पासवर्ड पाउन सक्नुहुन्छ ।

– त्यसपछि सोही पासवर्ड प्रयोग गरेर विभिन्न डिभाइसमा वाई-फाई कनेक्ट गर्न सकिन्छ ।

प्रकाशित : २०८० साउन १३ गते १५:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI