नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य छैन : अध्यक्ष ओली

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २४ गते १९:५०
नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य छैन : अध्यक्ष ओली

कावासोती । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको बताएका छन् । बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको बताएका हुन् ।

उनले एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको बताए । उनले माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताए । ‘एमाले अयोग्य, असक्षम भएर होइन, काम गर्न नसकेर होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ । मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ । देशमा सुशासन ल्याउनसक्छ । शान्ति सुव्यवस्था कायम गर्नसक्छ, त्यसो भएपछि विरोध भइरहेको छ,’ अध्यक्ष ओलीले भने ।

त्यस्तै आफ्नो भविष्य अन्धकार देखेर कांग्रेस र माओवादी आत्तिएको पनि उनको भनाइ छ । उनले अगाडि भने, ‘कांग्रेस हामीसँग आत्तिएको किन, आफ्नै भविष्य अन्धकार देख्न थालेर । माओवादी आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईंहरू सच्चिनु हुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईंहरूको भविष्य छैन । नसच्चिए त तपाईंहरूको भविष्य अन्धकार भएर जाने नै हो ।’

अध्यक्ष ओलीले युवाहरूमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए । उनले ०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको बताए । मधेशमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरूलाई ओलीले निर्देशन दिए ।

 

प्रकाशित : २०८० असोज २४ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI