त्रिवेणी-कोरला नाका जोड्ने सडक निर्माण पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १५ गते १६:४३
त्रिवेणी-कोरला नाका जोड्ने सडक निर्माण पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

नवीन पौडेल, कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारत र चीनको नाका जोड्ने त्रिवेणी-कोरला सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

प्रदेशको लाइफलाइन मानिएको यो सडक खण्ड निर्माणका लागि त्रिवेणीदेखि दुम्किबाससम्म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माण हुन सकेको छैन ।

मुख्यमन्त्री पाण्डेले केन्द्र सरकार र निकुञ्जले यो सडक निर्माणमा सहजीकरण नगरेमा प्रदेश आफैंले सडक निर्माण गर्ने दाबी गरे ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त धारणा राखेका हुन् । चीनसँग जोडिएको कोरलानाका केही समयपछि खुल्ने र यसले प्रदेशको आर्थिक गतिविधिमा वृद्धि हुने बताए ।

तीनै तहका सरकारले एकै स्थानमा बजेट विनियोजन गर्ने काम तत्काल बन्द गरेर स्थानीय तह, प्रदेश र केन्द्र सरकारको योजनाको सिलिङ तय हुनुपर्ने पनि उनले बताए । हुप्सेकोट गाउँपालिकाले ८ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

प्रकाशित : २०८० कार्तिक १५ गते १६:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI