कार्यान्वयनमा आयो एमडीएमएस, अवैध मोबाइल नचल्ने

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २१ गते ९:३५
कार्यान्वयनमा आयो एमडीएमएस, अवैध मोबाइल नचल्ने

कावासोती । घोषणा भएको करिब १४ महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले प्राधिकरणले ०७९ असोज १ देखि उक्त प्रणाली सञ्चालनमा ल्याए पनि कार्यान्वयन गर्न सकेको थिएन ।

एमडीएमएस प्रणालीमा दर्ता नभएका बढी मूल्यका केही मोबाइलमा दूरसञ्चार सेवा अवरुद्ध (नेटवर्क लक) गरेर प्राधिकरणले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । एमडीएमएस प्रणालीमा दर्ता नभएका करिब ८ सयदेखि एक हजार वटा ‘हाइयन्ड’ मोबाइलमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा अवरुद्ध गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनाए । यस प्रणालीमा दर्ता नभएका बाँकी मोबाइल पनि चरणबद्ध रूपमा बन्द (सेवा अवरुद्ध) गर्दै लगिने खनालले जनाए ।

‘एक लाख ५० हजार वा सोभन्दा बढी मूल्यका केही मोबाइलमा १५ दिनअघि नै एमडीएमएसमा दर्ता हुन एसएमएस पठाएका थियौं । तोकिएको समयमा दर्ता हुन नआउने करिब एक हजार मोबाइलमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा अवरुद्ध गरिएको छ,’ उनले भने, ‘यो प्रणालीमा दर्ता नभए पनि यसअघि एसएमएस नआएका मोबाइलको नेटवर्क भने बन्द भएको छैन । ती मोबाइल चरणबद्ध रूपमा बन्द गर्दै जानेछौं ।’ एकदेखि डेढ लाखभन्दा बढी मूल्यका करिब १० हजार मोबाइल प्रयोगमा रहेको र पहिलो चरणमा करिब एक हजार मोबाइलमा प्राधिकरणले सेवा अवरुद्ध (नेटवर्क लक) गरेको खनालको भनाइ छ ।

कात्तिक १९ पछि नेपालमा प्रयोगमा आएका सबै मोबाइल एमडीएमएसमा दर्ता भएर मात्र चल्न दिने पनि उनले जानकारी दिए । ‘यो प्रणालीमा दर्ता नभएका नयाँ मोबाइलको हकमा नयाँ सिमकार्ड राख्दाबित्तिकै १५ दिनभित्र दर्ता हुन एसएमएस आउँछ,’ अध्यक्ष खनालले भने, ‘उक्त अवधिमा प्रणालीमा दर्ता हुने मोबाइल निरन्तर चल्छन्, नहुने बन्द हुन्छन् ।’

एमडीएमएस प्रणालीमा आबद्ध नभएका मोबाइलका लागि प्राधिकरणले यही कात्तिक ४ मा सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो । त्यो समय आइतबार सकिएको छ । ‘प्राधिकरणबाट सञ्चालित एमडीएमएस दूरसञ्चार सेवा प्रदायकहरूको नेटर्वकमा आबद्ध भई दर्ता नभएका मोबाइल ह्यान्डसेट विधिपूर्वक १५ दिनभित्र प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता गराउनू,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘१५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुनेछ ।’

०७९ भदौसम्म प्रयोगमा रहेका सबै मोबाइल प्राधिकरणले स्वतः आफ्नो एमडीएमएस प्रणालीमा दर्ता गरिसकेको छ । त्यसयता प्रयोगमा आएका तर प्रणालीमा दर्ता नभएका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्न प्राधिकरणले बारम्बार सूचना जारी गर्दै आएको थियो । पटक–पटक आह्वान गर्दा दर्ता नहुने मोबाइलमा प्राधिकरणले सेवा अवरुद्ध गर्न लागेको हो । ०७९ असोजयता बजारमा भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल एमडीएमएस प्रणालीमा दर्ता नभएको प्राधिकरणले जनाएको छ ।

अहिले नेटवर्क अवरुद्ध गरिएका मोबाइल पनि कानुनअनुसार दर्ता हुन आए उनीहरूको सेवा खुला हुने प्राधिकरणले बताएको छ । चालु आर्थिक वर्षको आर्थिक विधेयकमा ०७९ भदौ ३० देखि ०८० जेठ १५ सम्म नेपालमा चलेका तर एमडीएमएसमा दर्ता नभएका मोबाइल तोकिएको शुल्क तिरेर दर्ता गर्न पाइने व्यवस्था छ । विधेयकमा सबै प्रकारका आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका प्रतिफोन सेट १० हजार रुपैयाँ, अन्य स्मार्ट फोनका लागि प्रतिसेट तीन हजार रुपैयाँ र स्मार्टबाहेकका साधारण मोबाइलका लागि प्रतिफोनसेट २ सय रुपैयाँका दरले शुल्क तिरेर एमडीएमएस प्रणालीमा दर्ता हुन पाइने व्यवस्था छ ।

नेपालभित्र प्रयोगमा रहेका मोबाइल डिभाइसहरूको आईएमईआई/ईएसएन/एमईआईडी नम्बर अनलाइनबाट दर्ता गर्ने प्रयोजनका लागि प्राधिकरणले एमडीएमएस सिस्टम ल्याइएको हो । यसलाई आवश्यक पर्दा मोबाइल डिभाइसहरू पत्ता लगाउन र अनधिकृत सेटहरूको सेवा बन्द गर्न प्रयोग गरिन्छ । ०७९ भदौ ३० पछि नेपाल आउने सबै फोनहरू अनिवार्य रूपमा दर्ता गरिएका हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

आयातकर्ताले मोबाइल व्यवसायीहरूले फोन भित्र्याउनुअघि नै एमडीएमएस प्रणालीको इम्पोटर्स पोर्टलबाट आईएमईआई नम्बरहरू दर्ता गराउनुपर्छ । नम्बर दर्ता भएपछि प्राधिकरणले त्यसको परीक्षण गर्छ । आयातकर्ताले पठाएको आईएमईआई नम्बर ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जीएसएम) को नम्बरसँग मेल खाएमा प्राधिकरणले भन्सार कार्यालयमा ‘नो अब्जेक्सन लेटर’ पठाउँछ ।

भन्सारले मोबाइल डिभाइस र आईएमईआई नम्बर दाँजेपछि मात्रै नेपाल भित्र्याउने अनुमति दिन्छ । यसरी भित्रिएका फोन प्रयोगकर्ताले खरिद गरेपछि पुनः आईएमईआई नम्बर दर्ता गरिरहनुपर्दैन । रोमिङ सेवा लिएका विदेशी पर्यटकले नेपालमा एमडीएमएस नम्बर दर्ता गरिरहनु पर्दैन । तर, तिनले नेपाली सिमकार्ड प्रयोग गर्न चाहेमा दर्ता गर्न आवश्यक हुन्छ ।

विदेशमा रहेका आफन्त वा साथीभाइले उपहारमा वा खरिद गरेर पठाएका वा स्वयंले ल्याएको फोनको हकमा प्रयोगकर्ता स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । प्राधिकरणको वेबसाइटमा गएर त्यहाँ रहेको ‘मोबाइल सेट्स आईएमईआई/ईएसन/एमईआडी रेजिस्ट्रेसन’ मा क्लिक गरी दर्ता गर्न सकिन्छ । यसका लागि शुल्क लाग्दैन । एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा गएर आफ्नो मोबाइल डिभाइसको आईएमईआई नम्बर दर्ता भए/नभएको थाहा पाउन सकिन्छ ।

यो १५ अंकको नम्बरलाई उपकरणको परिचय प्रदान गर्ने गुण मानिन्छ । आफ्नो मोबाइल फोनको आईएमईआई नम्बर कति हो भनेर थाहा पाउन ‘एस्ट्रिक ह्यास ०६ ह्यास’ डायल गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २०८० कार्तिक २१ गते ९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI