चुनाव हारिएला, सोफा छोडेर चकटीमा बसौँला अब गठबन्धन गरिन्न : महामन्त्री थापा

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ६ गते २०:०९
चुनाव हारिएला, सोफा छोडेर चकटीमा बसौँला अब गठबन्धन गरिन्न : महामन्त्री थापा

कावासोती । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि चुनावअघि सरकारका लागि गठबन्धन हुँदै नहुने बताएका छन् । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।महामन्त्री थापाले यो विषय विधानमै लेखेर भए पनि व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘चुनाव हारिएला सोफामा नबसौला, बरु गुन्द्रीमा चकटीमा बसौला तर अब गठबन्धन गरिन्न ।’,

गएको स्थानीय तथा प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै थापाले अगाडी भने ‘चुनावअघि गठबन्धन गर्यौँ । अब भने कांग्रेस हार्छ भने पनि चुनावअघि गठबन्धन नगरौँ । चुनाव हारे के हुन्छ ? कम्युनिष्टहरु एक भएर चुनाव लडे पनि गठबन्धन हुँदैन । ८४ मा हारिन्छ भन्छन् । हारे हारिन्छ । नेपाली कांग्रेसले वैधानिक व्यवस्था नै गर्न प्रयास गर्छ र कसैलाई चुनावभन्दा अगाडि गठबन्धन गर्न दिँदैन । गठबन्धन भनेको त सरकार मात्र भयो । पार्टी त विचार हो । निर्वाचन प्रणालीबाट जनताले छान्ने नेताहरु बदल्न सकिन्छ ।’

मिसन २०८४लाई लक्षित गर्दै थापाले अहिले काम गर्ने बेला भएकाले सरकारमा बसेकाले काम गर्नु पर्ने बताएका हुन । ‘हामी सरकारमा छौँ । हामीले अहिले त काम गर्ने हो । जताततै कांग्रेस छ । ७९ सालमा धेरै ठाउँमा कांग्रेसले जित्ने अनि जसलाई भेट्यो भन्छ ८४ त गयो । अहिले हेर्यो जता पनि मन्त्री, सांसद तर चार वर्ष नागरिकको मन जित्न नखोजेर अहिले हामीले किन ८४ सोच्ने ?’, उनले भने ।

विगतका उदाहरण दिँदै थापाले १८ महिना सरकार चलाउने बीपीको वाहीवाही, गिरिजाप्रसाद ३ वर्षमा पञ्चायतको ३० वर्षमा नभएको काम गरेको, एक वर्षमै किसुनजीले संविधान लेखेको कांग्रेसको सरकार भएको बेला सुशील कोइरालाले दुई वर्षमा जनताको संविधान जारी गरेको बताए ।

उनले कांग्रसले नै काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामी प्रत्येक मान्छे जसले रुख चिन्ह लिएर जिम्मेवारी पाएका छौँ मेरो कारणले यति काम भयो भनेर ८४ मा भन्न सक्नुपर्छ ।’

 

प्रकाशित : २०८० मंसिर ६ गते २०:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI