१० प्रतिशतले घट्यो चितवनमा धान उत्पादन

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २१ गते १४:१७
१० प्रतिशतले घट्यो चितवनमा धान उत्पादन

चितवन : जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । चार दशमलव २६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए ।

अघिल्लो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लागेका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए ।

उनले भन्, ‘समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो ।’ समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए । धानको उत्पादन हुने समयमा कालोपोके, घाँटीमरुवा, गवारोजस्ता समस्या देखिएको उनले बताए । रासस

प्रकाशित : २०८० मंसिर २१ गते १४:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI