संस्कृत विद्यालय सन्चालन गर्न हरेक वर्ष धनधान्याञ्चल

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ३ गते १३:०५
संस्कृत विद्यालय सन्चालन गर्न हरेक वर्ष धनधान्याञ्चल

कावासोती । देवचुली-१५ प्रगतिनगरमा रहेको पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ ।

विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्नेे उद्धेश्यले स्थापित यो विद्यालयमा आवासीयरूपमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्यापन हुुने गरेको हो । हरेक वर्ष स्थानीयवासीले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर सञ्चालनको खर्च जोहो गर्दै आइरहेका छन् ।

विद्यालयमा आवासीयरूपमा रहेर अध्ययनरत विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष विद्यालयमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर खर्च व्यवस्थापन गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताए । यस वर्ष पनि यहि पुस ४ गतेदेखि पुसको १० गते सम्म अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवं शतचण्डी धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको उनले जानकारी दिए ।

अध्यक्ष भट्टराईका अनुसार विद्यालयमा अहिले कक्षा ६ देखि १२ सम्म गरेर ८० विद्यार्थी आवासीयरूपमा रहेर अध्ययन गर्ने गरेका छन । विद्यालयमा सरकारी दरबन्दीका आठ शिक्षकको तलब भत्ताबाहेक अन्य सरकारी सहयोग आउने नगरेको उहाँले गुनासो गरे । “स्थानीय तह र प्रदेश सरकारबाट टुक्रे योजना र सामान्य अनुदानबाहेक राज्यबाट थप केही आउँदैन, विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष धनधान्याञ्चल आयोजना गर्नुपर्ने बाध्यता रहेको छ”, भट्टराईले बताए ।

ब्रह्मलीन श्रोत्रिय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द पुरीले वैदिक वाङ्मय एवं षोडश संस्कार संरक्षणको अवधारणाअनुसार पूर्वी नवलपरासीको देवचुली–१५ मा विद्यालयको स्थापना गर्नुभएको थियो । विद्यालयमा आवासीयरूपमा रहने विद्यार्थीको भोजन, आवासलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनका लागि विसं २०५६ देखि पशुपति वैदिक आश्रम (ट्रष्ट)को स्थापना गरेर विद्यालयको दैनिक खर्च व्यवस्थापन सो आश्रमको मातहतमा गरिँदै आएको छ ।

 

महायज्ञमा सङ्कलन भएको धान र चामल तथा अन्य जिन्सी सामान बिक्री तथा सङ्कलन भएको नगद रकमले सञ्चालित सो विद्यालयमा सरकारको ध्यान नपुगेको स्थानियको गुनासो रहेको छ ।

प्रकाशित : २०८० पुष ३ गते १३:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI