गैँडाकोट हाफ म्याराथनको उपाधि राजन र सीमालाई

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १६ गते ७:५८
गैँडाकोट हाफ म्याराथनको उपाधि राजन र सीमालाई

कावासोती । गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गरी उपाधि हात पारेका हुन् । उनले रु एक लाख पुरस्कार प्राप्त गरे । यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह राउतले प्राप्त गरे ।

उनले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गरी रु ५० हजार पुरस्कार प्राप्त गरे । काठमाडौँको धापाखेलका अजितकुमार यादव एक घण्टा पाँच मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पाए ।

यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सीमा चौधरी पहिलो भइन् । उनले सो दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरिन् ।

यसैगरी पाँच किलोमिटर विद्यार्थीमैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम भए । उनले निर्धारित दूरी १५ मिनेट १९ सेकेण्डमा पूरा गरी रु १० हजार पुरस्कार हात पारे ।

तनहुँको रिसिङका अमृत विक १५ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी दोस्रो तथा काठमाडौँको चन्द्रागिरिका अनुज महत १५ मिनेट ५५ सेकेण्डमा दूरी पार गरी तेस्रो भए । उनीहरुले क्रमशः रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गरे ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको गैँडाकोट हाफ म्याराथनमा २८ महिलासहित दुई सय ५० जनाले भाग लिएका थिए ।

पाँच किलोमिटर दौडमा एक सय ८० विद्यार्थी सहभागी भएका संयोजक आदर्श सिग्देलले जानकारी दिए ।रासस

प्रकाशित : २०८० पुष १६ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI