११ औँ नेपाली टोपी दिवस मनाइँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १६ गते ८:४९
११ औँ नेपाली टोपी दिवस मनाइँदै

कावासोती ।  ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराको साथ सोमबार ११ औँ नेपाली टोपी दिवस मनाइने भएको छ । जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ।

विगत केही वर्षदेखि कोरोना सङ्क्रमणलगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि यस वर्ष भने औपचारिक कार्यक्रम तय गरिएको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले जानकारी दिए ।

उनका अनुसार पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि वसन्तपुरमा भेला भएर कार्यक्रम गरिने छ ।

सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको संस्थापक अध्यक्ष बलामीले जानकारी दिए ।

विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाका टोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ। नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरू पनि छन् । त्यसैले ती टोपीहरूको संरक्षण र प्रवर्द्धनका ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ ।

यस वर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यू चोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गराउनको लागि सामाजिक सञ्जाल मार्फत पनि सरकारलाई दबाब दिन आग्रह गरेको छ। वसन्तपुरमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन नसके पनि नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरूमा राखेर विश्वभर प्रवर्द्धन गर्नको लागि सम्पूर्णमा संस्थाले अनुरोध गरेको छ ।

जागरूक युवा अभियान नेपालका अभियन्ताहरूमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईँ र राजेश खत्री रहेका छन् ।

प्रकाशित : २०८० पुष १६ गते ८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI