प्रधानमन्त्री देखि विभागीय मन्त्रीको निर्देशन, दलको दबाब यात्रा काम भने कछुवा गतिमा

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १८ गते ९:४९
प्रधानमन्त्री देखि विभागीय मन्त्रीको निर्देशन, दलको दबाब यात्रा काम भने कछुवा गतिमा

सन्जय भट्टराई, कावासोती । ४२ महिनामा काम सम्पन्न गर्ने गरि सम्झौता भएर २०७५ को चैत महिनामा शिलान्यास भएको नारायणघाट बुटवल सडकखण्डको बिस्तारको काम निकै सुस्त गतिमा चलेको छ ।

दुई पटक सम्म आयोजनाको म्याद थपिएको भए पनि सडक आयोजनाको पुर्वी खण्डमा मात्रै ४४.६२ प्रतिशत काम सम्पन्न भएको आयोजनाका पुर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

पछिल्लो पटक गत साउनमा आयोजनाको पुर्वी खण्डलाई भदौ ११ बाट लागू हुने गरि ३३० दिनको म्याद थप गरिएको भए पनि थपिएको समयमा काम नसकिने देखिएको हो । थपिएको समय भदौ ११ देखि चार महिनाको अवधिमा आयोजनाको निर्माण कम्पनीले मात्रै ६.६२ प्रतिशत मात्रै काम सम्पन्न गरेको हो ।

झाका अनुसार हालसम्म आयोजनाको पुर्वी खण्डमा कतै दायाँ र कतै बायाँ गरेर एकतर्फी १९.८८ किलोमिटर कालोपत्रको काम सकिएको छ । पुर्वी खण्डको ६४.४२ किलोमिटर मध्य २४.३ किलोमीटर सडकमा बेस कोर्ष (कालोपत्रको तयारी) सकिएको २ सय १५ कल्भर्ट मध्ये १२५ वटाको काम सकिएको, २२ वटा साना पुल मध्ये १९ वटाको काम सकिएको, १ वटामा काम भैरहेको र २ वटाको काम बाकी रहेको झाले बताए । उनका अनुसार पुर्वी खण्डको १२ वटा ठुला पुल मध्ये ३ वटामा काम सकिएको, ८ वटाको सबस्टकचरको काम सकिएको र एउटा पुलको काम सुरुनै भएको छैन ।

आयोजनाको निर्माण कम्पनीले सरकारसँग गएको साउनमा २ वर्षको म्याद थप मागेको भए पनि मात्रै ३३० दिन पाएको थियो । थपिएको समयमा काम सम्पन्न हुन प्रती महिना ७ प्रतिशतको हाराहारीमा काम गर्न पर्ने हुन्छ तर निर्माण कम्पनीको कामको गति प्रति महिना २ प्रतिशतको हाराहारी छ ।

सरकारले आयोजनाको समय आगामी २०८१ को साउन सम्म दिएको भए पनि आयोजना निर्माण कम्पनीले २०२५ को फेब्रुअरी सम्ममा ९५ प्रतिशत काम सम्पन्न गर्ने गरि कार्ययोजना बनाएर काम गरेको पुर्वी खण्डका म्यानेजर झाले बताए ।

गएको मंसिर ३० गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयमै काम सम्पन्न गर्न र चालू सडकको उचित मर्मत संभार तथा निर्माणाधिन सडकको एक तर्फको २ लेन सडक निर्माणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका थिए । आयोजनामा भएको ढिलाईका कारण सर्वसाधारण समस्यामा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस को २ गते प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट आयोजनाको अवलोकन गरि समयमै काम सम्पन्न निर्देशन दिदै निर्माणको क्रममा कुनै प्रकारको समस्या भए सरकारले सहजीकरण गर्ने बताएका थिए भने समयमै काम सम्पन्न गर्न दबाब दिन रास्वपाका सभापति एवं पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणघाट देखि बुटवल सम्मको पैदल यात्रा गरेका थिए ।

त्यो बाहेक स्थानीय रुपमा राजनीतिक दल, दलका नेता, जनप्रतिनिधि सबैले पटक पटक समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार ताकेता गरेको भए पनि निर्माण कम्पनीले २०२४ को जुलाई सम्म ७५ प्रतिशत र २०२५ को फेब्रुअरीमा ९५ प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना बनाएर काम गरेको छ ।

प्रधानमन्त्री, विभागीय मन्त्री, राजनीतिक दल, जनप्रतिनिधि सबैले समयमै काम सम्पन्न गर्न ताकेता गरेको भए पनि आयोजनाको दुई पटक म्याद थप भएको र चालू आ.वको अन्तिम सम्म ७५ प्रतिशतको हाराहारीमा काम गरेर निर्माण कम्पनी फेरि म्याद थप गराउने तयारीमा रहेको देखिन्छ ।

४ पौष २०७५ मा सम्झौता भएर २४ माघ २०७५ मा कार्यादेश पाएको आयोजनाले २२ साउन २०७९ मा काम सम्पन्न गर्नु पर्ने भए पनि समयमा काम नसकिए पछि १२ भदौ २०८० मा पहिलो पल्ट र ८ साउन २०८१ मा दोस्रो पटक आयोजनाको काम सम्पन्न गर्ने शर्तमा म्याद थपिएको थियो ।

सम्झौता अनुसार आयोजनाको पुर्वी खण्डको ६४.४२ किलोमिटर मध्ये शहरी क्षेत्रको १७.६ किलोमिटर ६ लेन, ग्रामीण क्षेत्रको ४२.७ किलोमीटर ४ लेन र दाउन्ने पहाडमा ३.१ किलोमीटर ३ लेनको सडक बन्नेछ ।

प्रकाशित : २०८० पुष १८ गते ९:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI