टाइगर ट्रेल खिचरी उत्सवको आकर्षण बन्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २३ गते १३:५९
टाइगर ट्रेल खिचरी उत्सवको आकर्षण बन्दै

सालिकराम कोइराला, रतवल,नवलपुर ।कावासोतीको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा टाइगर ट्रेल संचालन गरिएको छ। नवलपुर पर्यटन समितिले आगामी २७ पुसदेखि माघ २ सम्म चिलाहा, रतवलमा संचालन गर्ने खिचरी उत्सव टाइगर ट्रेलको आकर्षणको केन्द्र बन्ने भएको छ।

पाँच दिवसिय खिचरी उत्सवको जानकारी गराउने उदेश्यले सोमबार कावासोती १० चिलाहा, रतवलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। अन्त कतै नभएको टाइगर ट्रेल हामीले यहाँ संचालनमा ल्याएका छौ त्यसर्थ यो पर्यटकको आकर्षण बन्छ स्थानीय पर्यटन व्यवसायी धनीराम गुरौले भने।

गुरौका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पाइने पाटेबाघ हिड्ने बाटो, उसको खुट्टाका डोबहरू, नङग्रा, बासस्थान र बिचरण क्षेत्रलाई टाइगर ट्रेल बनाई २ किलोमिटर क्षेत्र सो करिडोरको रूपमा पहिचान र प्रयोग गरिएको छ। अन्यत्र यस्तो व्यवस्था नभएको हुँदा यो टाइगर ट्रेल अत्यधिक आकर्षणको केन्द्र बन्ने उनको विस्वास छ।

पाँचौ नवलपुर खिचरी उत्सव तथा फुड फेष्टिवल, नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले ‘प्रकृति,संस्कृति र पर्यटन एकैसाथ’ भन्ने नाराकासाथ बाँण खोलाको किनारमा खिचरी उत्सव गर्न लागिएको जानकारी गराए। अघिल्ला वर्षहरूमा स्थानीय जन्मभूमि युवा क्लबले यस्तो उत्सव संचालन गर्दै आएको थियो।

यस पटक स्थानीय खाना खिचरी, चिचर बाहेक नारायणी नदीको डल्फिन,पाटे बाघ,एकसिङे गैडा, ६ सय भन्दा बढि प्रजातिका चराचुरुङ्गी, बोटिङ, टाइगर ट्रेल र स्थानीय नाचगानको अवलोकनले उत्सवलाई उल्लासमय बनाउने भएको छ।

हरेक दिन दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने खिचरी उत्सव अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी गराएको छ। त्यसबाहेकका अन्य प्याकेजमा सुपथ शुल्क लान्ने छ। आयोजकले यो उत्सवबाट १५ लाख आम्दानी हुने र ११ लाख ५० हजार खर्चहुने अनुमान गरेको छ।

प्रकाशित : २०८० पुष २३ गते १३:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI