एक दिवसीय श्रङखला : नेपाल क्यानडासँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २५ गते ७:१७
एक दिवसीय श्रङखला : नेपाल क्यानडासँग खेल्दै

कावासोती । नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ ।

खेल बिहान ९ : १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ ।

क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्नसक्ने सम्भावना छ ।

नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिनसक्छ । तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन् ।

कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन् । दीपेन्द्रले बलिङ आक्रामण पनि सम्हाल्नेछन् । दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन् ।

उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुविधा छ । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालमा फ्रेन्चाइज लिग खेलिसकेका श्रीमन्था विजयरत्नेले राम्रो ब्याटर हुन् । २०१८ मा उनले डिभिजन टुमा नेपालविरुद्ध शतक हानेका थिए । त्यस्तै भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङविरुद्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएकोछ ।

नेपालले यस सिरिज आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको रुपमा खेलेको हो । क्यानडाले लिग २ सिरिज यूएईमा गएर खेल्नुअघि खेलेको हो ।

प्रकाशित : २०८० माघ २५ गते ७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI