डिभिजन वनको ढिलासुस्तीले अझै आएन दुवै बाघको पोस्टमार्टम रिपोर्ट

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २२ गते १२:४५
डिभिजन वनको ढिलासुस्तीले अझै आएन दुवै बाघको पोस्टमार्टम रिपोर्ट

कावासोती । एक हप्ताको अन्तरालमा नवलपुरमा २ वटा पाटे बाघ मारिएको भए पनि बाघको मृत्युको कारण र मार्नेको व्यक्ति या समुहको पहिचान हुन सकेको छैन । डिभिजन वन कार्यालय कावासोतीको ढिलासुस्तीका कारण पोस्टमार्टम रिपोर्ट आउन ढिलाई भएको हो ।

बाघ मृत्युको तथ्य र कारण पत्ता लगाउन डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडी बढाएको भए पनि अनुसन्धानमा प्रगती देखिएको छैन । “पोस्टमार्टम रिपोर्ट आएको छैन, हामीलाई रिपोर्ट आउन केही समय लाग्छ भन्ने जवाफ आएको छ, अनुसन्धान अगाडी बढाएका छौ,” डिभिजन वन नवलपुरका प्रमुख बसन्त केशव  अधिकारीले भने । पोस्टमार्टम रिपोर्ट कहिले आउँछ भन्ने प्रश्नमा ३५ दिन लाग्ने डिभिजन वन नवलपुरका प्रमुख अधिकारीले बताउने गरेका भए पनि मरेका बाघ बाट संकलन भएका नमूना ढिलासुस्तीका कारण हिजो सोमबार मात्रै राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पुगेको पुष्टि भएको छ ।

मरेका बाघबाट संकलन गरिएका नमूना परिक्षणका लागि सोमबार मात्रै राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पुगेको प्रयोगशालाका सूचना अधिकारी दिनेश कुमार झाले बताए । झाका अनुसार बढिमा १५ दिन भित्रमा मृत्युको कारण सहितको रिपोर्ट डिभिजन वन कार्यालयलाई दिईने छ । “उहाँहरुले कहिले कसरी पठाउनु भयो त्यो थाहा भएन, प्रयोगशालामा हिजो मात्रै नमूना आईपुगेको छ, अबको १५ दिन भित्र हामी रिपोर्ट दिन्छौ ।”, झाले भने ।

गएको फागुन ४ गते मध्यविन्दु–१५ को अरुणखोलाको जंगलमा र फागुन १२ गते मध्यविन्दु नगरपालिकाको १५ मा भाले बाघ हत्या गरेर गाडिएको अवस्थामा फेला परेको थियो । ४ गते मृत फेला परेको बाघ विषाक्त खानाको कारण र १२ गते हत्या गरेर गाडिएको अवस्थामा फेला परेको बाघ करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

फागुन १२ गते हत्या गरेर गाडिएको अवस्थामा बाघलाई करेन्ट लगाएर मारेको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि जिल्ला प्रहरी कार्यालय नवलपुरले समेत अनुसन्धान अगाडी बढाएको छ । बाघ गाडेको आसपास पासो थाप्नका लागि बनाईएको डोबहरु फेला परेको र घटना स्थल नजिकै (करिब ५/६ सय मिटर) विद्युत लाईन भएकाले त्यही बाट हुक गरेर थापिएको पासोमा बाघ मरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको हो ।

प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको र अनुसन्धानलाई अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मी बताउछ्न । “बाघको तस्करी गर्न भन्दा पनि बदेँल, हरिण लगाएतका जनावर मार्न थापेको पासोमा परेर बाघ मरेको हुन सक्छ, प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ नतिजा चाडै आउने विश्वास छ”, उनले भने । फागुन ४ र फागुन १२ मा मरेका दुवै बाघ पोस्टमार्टम रिपोर्ट आई नपुगेको भए पनि प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको रेग्मीले बताए ।

प्रकाशित : २०८० फागुन २२ गते १२:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI