कावासोती र देवचुली क्षेत्रमा मान्छेलाई आक्रमण गर्ने गैँडालाई स्थानान्तरण गरिदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २९ गते १३:२८
कावासोती र देवचुली क्षेत्रमा मान्छेलाई आक्रमण गर्ने गैँडालाई स्थानान्तरण गरिदैँ

कावासोती । कावासोती नगरपालिका को वडा नं १ र देवचुली-१० आसपास पटक पटक मान्छेलाई आक्रमण गर्दै आएको गैँडालाई अर्को स्थानमा स्थानान्तरण गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा डिभिजन वनका अधिकारीहरुको संयुक्त टोलिले कावासोती नगरपालिका को वडा नं १ र देवचुली-१० आसपास पटक पटक मान्छेलाई आक्रमण गर्दै आएको गैँडालाई अवलोकनको क्रममा मंगलबार कावासोती-११ कुढौलीको लोकाहा खोलाको काँस घारीमा फेला पारेको हो ।

कावासोती-११ कुढौलीको लोकाहा खोला किनारमा गैँडा देखे पछि स्थानीयले निकुञ्ज प्रशासनमा खवर गरेका थिए । स्थानीयको खबर पछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा डिभिजन वनका अधिकारीहरुको संयुक्त टोलि गैँडा देखिएको स्थानमा आएको थियो ।

टोलीमा संग्लन राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक डा.विजय श्रेष्ठका अनुसार गैँडा अन्दाजी २० वर्ष उमेर पुगेको छ । गैँडाको पछिल्लो भागमा मान्छेले लखेटने क्रममा भएको घाउ देखिएको तर घाउ सामान्य भएको उनले बताए । यो गैँडा लामो समय मानव बस्ती आसपास बसेकाले चर्नका लागि जंगल भित्र नगएर बस्ती नजिक जाने र अगाडी परेका मान्छेलाई आक्रमण गर्ने गरेको उनले बताए ।

गैँडाको चालचलन र स्वास्थ्य अवस्थाको बारेमा प्रष्ट भए पछि डार्ट गरेर सौराहा क्षेत्र लैजाने तयारी गरिएको श्रेष्ठले बताए । “वन्यजन्तु भएकाले स्थानान्तरण सहज हुदैन, हाम्रो टोलिले गैँडाको चालचलन नजिकबाट अध्ययन गरे पछि पायक पर्ने स्थानबाट डार्ट गर्छौ”, श्रेष्ठले भने ।

उनका अनुसार यो गैँडालाई नारायणी पारीको जंगलमा पुर्‍याउदा फेरि फर्किएरै पुरानै ठाउँमा आउन सक्ने भएकाले सौराहा क्षेत्रमा लैजाने तयारी गरिएको हो । निकुञ्ज ले आगामी दुईसाता भित्र सबै प्रक्रिया पुर्‍याएर गैँडा स्थानान्तरण गरिने जनाएको छ ।

देवचुली-१० र कावासोती-१ जोडने लोकाहा खोलाको पुल आसपास पछिल्लो अढाई महिना यता गैँडाको आक्रमण परेर ५ जना स्थानीय घाईते भएका थिए भने गैँडा आफै बूढो र कम्जोर हुँदै गए पछि गैँडाको सुरक्षामा चुनौती समेत बढदै गएको छ ।

पटक पटक स्थानीयलाई आक्रमण गरेको र गैँडा पनि कम्जोर र बुढो हुँदै गएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँगको समन्वयमा स्थानान्तरणको तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

प्रकाशित : २०८० फागुन २९ गते १३:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI