निकुञ्जको पश्चिम सेकटरका गैंडा पुर्वी सेक्टर स्थानान्तरण गरिदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत १ गते १७:११
निकुञ्जको पश्चिम सेकटरका गैंडा पुर्वी सेक्टर स्थानान्तरण गरिदैँ

सन्जय भट्टराई, कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेका गैँडालाई शुक्रबार (भोलि) देखि निकुञ्जको पुर्वी सेक्टरमा स्थानान्तरण गरिने भएको छ ।

गैँडाको बासस्थान र संख्या मिलाउन भन्दै वन तथा वातावरण मन्त्रालयको सचिब स्तरको माघ २४ गतेको निर्णय अनुसार गैँडा स्थानान्तरणको प्रक्रिया सुरु गर्न लागिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए ।

पश्चिम सेक्टरका १० गैँडा पुर्वी सेक्टरको सौराहा क्षेत्रमा सार्न सचिब स्तरको निर्णय भएको भए पनि पहिलो चरणमा ६ वटा गैँडालाई स्थानान्तरण गरिने तिवारीले बताए ।  प्राविधिक टोलि सहित पश्चिम सेक्टरको नवलपुर आईपुगेको वन्यजन्तु विभाग सहितको टोलिले शुक्रबार देवचुली नगरपालिकाको महाराज सामुदायिक वन क्षेत्रबाट स्थानान्तरणको काम अगाडि बढाउने तिवारीले जानकारी दिए ।

सन २०२१ मा गरिएको गैँडा गणनामा निकुञ्जको पुर्वी सेक्टर भन्दा पश्चिम सेक्टरमा धेरै फेला परेका थिए । सोही गणनामा फेला परेका कुल ६ सय ९४ गैँडा मध्ये पश्चिम सेक्टरमा मात्रै ४ सय ५० को हाराहारीमा रहेका छ्न । यसरी एउटै क्षेत्रमा गैँडाको संख्या धेरै हुँदा बास स्थानको अभाव हुने , मानव गैँडा द्वन्द बढ्ने र गैँडाको वृद्धि दरमा समेत कमि आउने भएकाले स्थानान्तरण गर्न लागिएको तिवारीले बताए । उनका अनुसार पूर्व र पश्चिमको जेनेटिक क्रस गराएर प्रजनन दर बढाउन स्थानान्तरणले मद्दत गर्ने छ ।

पहिलो चरणमा पश्चिम सेक्टरमा नवलपुरका मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वनमा रहेका ६ वटा व्यस्क भाले र पोथी गैँडा स्थानान्तरण गरि सौराहा देखि पुर्वी क्षेत्रमा लैजाने सम्पुर्ण तयारी पूरा भएको र भोलि देखि स्थानान्तरण सुरु हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलप्रजा पुन ले बताए । नवलपुर क्षेत्रका गैँडा सौराहा क्षेत्रमा लैजान लागिएको र यसले नवलपुरको पर्यापर्यटना असर पर्ने नवलपुरका पर्यटन व्यवसायीहरुले बताईरहदा पुनले गैँडाको संख्याको आधारमा बासस्थान मिलाउन र आनुवांशिक विविधता मिलाउनका लागि स्थानान्तरण गर्न लागिएको बताए ।

“अहिले हामीले स्थानान्तरण गर्ने भनेको ६ देखि ७ वटा सम्म हो, यो विभाग र निकुञ्जको नियमित प्रक्रिया हो, गैँडाको बास स्थान र संख्या मिलाउन गर्न लागिएको हो, यसले आनुवांशिक विविधतालाई सहयोग गर्ने छ र गैँडाको वृद्धिदरमा समेत सहयोग पुर्‍याउछ,” पुनले भने । यस्ले नवलपुर क्षेत्रको पर्यापर्यटनलाई असर नपुर्‍याउने उनको भनाई थियो ।

प्रकाशित : २०८० चैत १ गते १७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI