नेपालकै पहिलो सुरुङ अब सर्वसाधारणका लागी खुल्ला गरिदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत १० गते १५:३६
नेपालकै पहिलो सुरुङ अब सर्वसाधारणका लागी खुल्ला गरिदैँ

कावासोती । नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गबाट यात्रा गर्दा बारा जिल्लाको चुरियामाई मन्दिर छेवैमा राजमार्गसँगै एउटा छहारी लगाइएको संरचना छ। राजमार्गको साँधैबाट सुरु भएको छहारी चुरेको पहाडी भित्तासम्म पुग्छ र एउटा कालो रङ लगाइएको ढोकामा पुगेर अन्त्य हुन्छ।

त्यो कालो रङ्ग लगाइएको ढोकाभित्र छ नेपालकै पहिलो गाडी गुडाउन बनाइएको सुरुङ मार्ग। महेन्द्र राजमार्ग तर्फबाट प्रवेश गर्दा यो सुरुङ चुरियामाई मन्दिरमा निस्कन्छ। मन्दिरमा राखिएको एउटा शिलालेखमा सुरुङ मार्गको ऐतिहासिक पक्षबारे चर्चा गरिएको छ।

नेपाली इन्जिनियर डिल्लीजङ थापाले अवधारणा तयार गरेको यो सुरुङलाई शिलालेखमा ‘दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङ मार्ग’ भएको दाबी समेत गरिएको छ।

नेपालका विभिन्न ठाउँ घुमेका भूगोलविद् टोनी हागन सहितका अन्तर्राष्ट्रिय पुस्तकहरूमा समेत चर्चा गरिएको यो सुरुङ विगत कैयौँ दशकदेखि अलपत्र थियो।

हालै पुनर्निर्माण गरिएको यो सुरुङमा अब भने सर्वसाधारणले पनि यात्रा गर्न पाउने भएका छन्। तर एक शताब्दीअघि गाडी गुडाउन मिल्ने गरी बनाइएको यो सुरुङमा अब भने पैदल मात्रै हिँड्न पाइने छ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले करिब चार करोड रुपैयाँ खर्च गरेर पुनर्निर्माण गरेको यो सुरुङ मार्ग अब छिट्टै पर्यटकीय र अध्ययन प्रयोजनका लागि खुला गरिने यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर ओझा बताउँछन्।

“सुरुमा जुन उद्देश्यका लागि निर्माण भयो त्यो उद्देश्य त अब पूरा हुँदैन र आवश्यक पनि छैन। यो ऐतिहासिक पुरातात्त्विक संरचनालाई चाहिँ हामीले एउटा पर्यटकीय दृष्टिले संरक्षण संवर्द्धन गर्दै जाने र एउटा अध्ययन केन्द्रको रूपमा पनि स्थापना गर्न सकिन्छ कि भनेर लागेका छौँ,” उनले भने।

ओझाका अनुसार यो सुरुङको व्यवस्थापन स्थानीय सरकारबाट गर्ने वा प्रदेशकै मन्त्रालयले गर्ने भन्नेबारे टुङ्गो लागिसकेको छैन। “तर यो सर्वसाधारणको लागि खुल्ला गर्ने नै हो,” उनले भने।-बिबिसीबाट

प्रकाशित : २०८० चैत १० गते १५:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI