चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा १९ गैँडा सहित ५८ वन्यजन्तुको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २३ गते १०:२०
चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा १९ गैँडा सहित ५८ वन्यजन्तुको मृत्यु

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालू आ.व को दस महिनाको अवधीमा १९ वटा दुर्लभ वन्यजन्तु एकसिँङ्गे गैँडाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परे सँगै मृत्यु हुने गैँडाको संख्या १९ पुगेको हो । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार चालू आवमा मरेका १९ गैँडा मध्य १५ वटा गैँडा प्राकृतिक कारण (बुढो भएर, बाघको आक्रमण र रोग लागेर)बाट , चोरी सिकारीबाट तीन र एक गैंडाको मृत्युको कारण खुलेको छैन ।

चालू आ.व को १० महिनाको अवधीमा १९ वटा एकसिङ्गे गैँडासहित ५८ वन्यजन्तु मरेका तिवारीले बताए । यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यस्तै यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीले जानकारी दिए ।  निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट एक सय ६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए । निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिङ्गर, ५१ सर्प, छ वटा पाटेबाघ, तीन एकसिङ्गे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिए ।

प्रकाशित : २०८० चैत २३ गते १०:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI