छिपछिपे सहकारीमा गम्भीर आर्थिक हिनामिना भएको पुष्टि, तीन जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २५ गते १८:३८
छिपछिपे सहकारीमा गम्भीर आर्थिक हिनामिना भएको पुष्टि, तीन जना पक्राउ

कावासोती । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएको छ। दुई महिनाभन्दा बढी समय लगाएर सहकारी रजिष्टारको कार्यालय गण्डकीले गरेको अनुसन्धानबाट छिपछिपेले रकम हिनामिना गरेको प्रतिवेदन तयार गरेको हो।

निर्मल गौतम नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ, ‘सहकारीको तत्कालिन सञ्चालक र हालका केही पदाधिकारीको समेत गम्भीर प्रकृतिको कैफियत वित्तिय विश्लेषण तथा छानबिनका क्रममा देखिन आएकोले त्यहीअनुसार कारवाही गर्नुपर्ने देखिन्छ।’

छानबिनका क्रममा हाल सहकारीका प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे, अध्यक्ष गोपी शर्मा तथा पहिलेका पदाधिकारीलाई रजिष्टार कार्यालयले प्रमुख दोषी ठहर्याएको छ। पाण्डे २०७२ सालदेखि २०७९ सम्म सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक थिए । पाण्डेले सहकारीको रकम मिटरब्याजमा समेत लगानी गरेको प्रतिवेदनले औल्याएको छ।

छिपछिपेले बचतकर्ताको १० करोड रुपियाँ हिनामिना गरेकोको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले दुई महिनाअघि कावासोतीमै आएर आवश्यक कागजात लगेर अनुसन्धान थालेको थियो। रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन सुरु गरेको थियो।

व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा सहकारीबाट आफैंले ३२ लाख रुपैयाँ ऋण लिनुभएको थियो। सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्रि गरिसकेको बताए ।

पाण्डेले आफैं सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माको दावी छ।

नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिपछिपेका प्रवन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराईज बचत तथा ऋण सहकारी संस्था चितवनका तत्कालिन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछाने रहेका नवलपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए । रकम हिनामिना गर्ने सनराइज सहकारी हाल बन्द छ भने रेग्मीबाहेक अन्य सञ्चालक फरार छन्।

सरकारीमार्फत बचतकर्ताको रकम हिनामिनामा ठुलो गिरोह सक्रिय भएको देखिएकाले प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

(यो समाचार गोरखापत्र अनलाइनमा बोमलाल गिरीले लेखेका छ्न ।)

प्रकाशित : २०८० चैत २५ गते १८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI