एमाले नवलपुर अधिवेशनः यस्तो हुन सक्छ सहमति र चुनावी समिकरण

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २६ गते १०:१४
एमाले नवलपुर अधिवेशनः यस्तो हुन सक्छ सहमति र चुनावी समिकरण

कावासोती । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलिले उद्घाटन गर्दै छन् । पार्टी अध्यक्षको प्रमुख आतिथ्यतामा हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । पार्टी अध्यक्षको स्वागतको युवा परिचालन देखि कार्यक्रम स्थल र आसपासको क्षेत्रमा पार्टीको झण्डा र चुनाव चिन्हहरु टाङ्गीएका छन् ।

पार्टी अध्यक्ष सहभागी अधिवेशनले भन्दा अबको जिल्ला नेतृत्व कस्तो बन्छ भन्नेमा एमाले कार्यकर्ता उत्सुक देखिन्छन् । पार्टी अध्यक्षले उद्घाटन गर्ने जिल्ला अधिवेशनमा विवाद र चुनावी अवस्था सृजना गर्न हुदैन भन्ने पार्टी केन्द्रीय नेताहरुको दवावमा जिल्ला तहमा नेताहरु देखिन्छन् । गण्डकी प्रदेशमा देखिएको पिएस र खगराज गुटको रस्साकस्सी नवलपुर सम्म छ । नेताहरु जिल्लाको समिकरण भन्दा प्रदेशको समिकरण अनुसार टिम बनाउने कसरतमा देखिन्छन् ।

जिल्लामा खगराज टिमको नेतृत्व केन्द्रीय सदस्य तिलक महत, रविन्द्र अधिकारी लगायतका नेताहरुले गरेका छन् भने पिएस टिमको केन्द्रीय सदस्य कृष्ण पौडेल, रोशन बहादुर गाहा, मुक्तिराम पाण्डे लगायतले गरेका छन् । गुटगत प्रतिस्पर्धा, हालै सम्पन्न स्याङ्गजा जिल्ला अधिवेशन र एमाले नेतृत्वमा गण्डकी प्रदेश सरकार गठनलाई आधार बनाएर जिल्ला अधिवेशन र भावि नेतृत्वको चर्चा यतिबेला एमाले वृत्तमा छ ।

नवलपुर जिल्ला अधिवेशनलाई शिर्ष नेतृत्वमा तहमा कति महत्वका साथ हेरिएको छ भन्ने जिल्ला अधिवेशनमा आउने सम्भाव्य नेताहरुको नामले पनि पुष्टि गर्छ । पार्टी अध्यक्ष केपी ओलि, प्रदेश इञ्चार्ज गोकर्ण बिष्ट मात्रै हाईन आईतबार मात्रै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त खगराज अधिकारी र पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समेत जिल्ला अधिवेशनमा सहभागी हुने एमाले स्रोतले बतायो । पार्टी नेतृत्वको बाक्लो उपस्थिति र प्रतिनिधिको अंक गणितलाई हेरेर अहिले दुवै पक्ष सहमति र चुनावी रणनीतिमा तयार देखिन्छन् ।

 

सहमति र चुनाव हुदाँको सम्भाव्य समिकरणबारे यहाँ चर्चा गरिएको छ ।

 

जीवन श्रेष्ठ दुवै टिमको साँझा उम्मेदवार

आठौं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको प्रमुख दावेदार देखिएका जीवन श्रेष्ठ जिल्ला अध्यक्ष हुन पाएनन् । अध्यक्ष मण्डलले मुक्तिराम पाण्डेको नेतृत्वमा जिल्ला कमिटी घोषणा गर्यो ।

हालका केन्द्रीय सदस्य महतको नेतृत्वको साविक नवलपरासी जिल्ला कमिटीमा उपाध्यक्ष र सचिवको जिम्मेवारी निभाएका श्रेष्ठ नेतृत्वले आफु माथि अन्याय गरेको अनुभूति गर्दै केही समय निस्क्रीय रहे । पछि पार्टी नेतृत्व र कार्यकर्ताको अनुरोधमा पुनः पार्टीको काम सक्रिय छन् ।

गत अधिवेशनमा श्रेष्ठलाई नेतृत्वबाट पाखा लगाएका केन्द्रीय सदस्य तिलक महतले यस पटक श्रेष्ठलाई अध्यक्ष बन्न अनुरोध गरिरहेको श्रेष्ठ निकट नेताहरु बताउछन् ।

शुरुमा पार्टी अध्यक्षमा होमनाथ जैसी र हुमनाथ सुवेदीको चर्चा चलाएका महतले यस अधिवेशनमा हालका अध्यक्ष मुक्तिराम पाण्डेलाई बलियो देखेपछि मध्यमार्गी उम्मेदवारको रुपमा श्रेष्ठलाई अगाडी बढाउन खोजेका हुन् ।

गण्डकी प्रदेश अधिवेशनमा पिएस खेमामा जिल्लाको नेतृत्व गरेका श्रेष्ठलाई जिल्ला अध्यक्षमा अगाडी सारेर आफ्नो पक्षमा तान्ने रणनीतिमा महत देखिन्छन् । श्रेष्ठ सर्वसम्मत अध्यक्ष नबन्दा उनि पक्षीय अधिवेशन प्रतिनिधिहरुको सहानुभूति आफ्नो पक्षमा पार्न सकिने महत पक्षको बुझाई छ ।

यस पटक श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाउन पार्टी महासचिव शंकर पोखरेल, मुख्यमन्त्री खगराज अधिकारी सम्मको निर्देशन महतलाई रहेको आम बुझाई छ । गण्डकी प्रदेश अधिवेशनबाट जिल्ला र प्रदेशमा कमजोर देखिएका महतले यस पटकको जिल्ला अधिवेशनमा आफु अनुकुल नतिजा नआउदा आफ्नो राजनीतिक भविश्यमा पर्न सक्ने क्षतिको आकलन गरेर पनि यस पटक श्रेष्ठलाई अध्यक्ष बनाउन तयार भएका हुन् । सर्वसम्मत बन्दा श्रेष्ठ अध्यक्ष र सचिवमा भिम कण्डेल महत खेमाको बटम लाईन छ ।

महत टिमले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बन्न अनुरोध गरेपछि पिएस टिमका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश अधिवेशनबाट पिएस टिममा देखिएका श्रेष्ठलाई यति चाडैं अर्को टिममा पुग्न दिन नहुने पक्षमा उक्त टिम देखिन्छन् । सर्वसम्मत बन्दा हालका अध्यक्ष मुक्तिराम पाण्डेलाई पहिलो सर्तको रुपमा अगाडी सारेको पिएस टिम श्रेष्ठ बन्दा पनि लचिलो बन्ने बुझाई कार्यकर्ताको छ । श्रेष्ठ पनि मुक्तिराम पाण्डेलाई नै सर्वसम्मत अध्यक्ष बनाउने पक्षमा छन् । तर, पाण्डेको नाममा सर्वसम्मत नबन्दा आफु सर्वसम्मत बन्न तयार रहेको सन्देश उनले नेताहरु समक्ष प्रकट गरेका छन् ।

निर्वाचन हुदाँ मुक्तिराम पाण्डेले चुनाव जित्दा खगराज पक्ष र हार्दा पिएस पक्ष दुवै जिल्लामा कमजोर हुन सक्ने सम्भाव्य परिणामलाई पूर्व आकालन गरेर अन्तिममा श्रेष्ठको नाममा सर्वसम्मत हुन सक्ने सम्भावना उच्च छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलि प्रमुख अतिथिको रुपमा अधिवेशनमा सहभागी हुदै गर्दा ओलिले व्यक्त गर्न सक्ने इच्छाले पनि अधिवेशन प्रभावित हुन सक्ने अनुमान छ । झापामा जस्तैः ओलिले नाम घोषणा गर्ने खगराज खेमाका कार्यकर्ताको बुझाई छ । स्याङ्गजामा खगराज पक्षको आन्तरिक लविङका बीच पनि अध्यक्षमा सुर्य गैह्रे पारस नै अध्यक्षमा सर्व सम्मत भएबाट अध्यक्ष ओलिले कसैको पक्षमा नखुल्ने बुझाई पिएस टिमको छ ।

अध्यक्षमा श्रेष्ठ सर्वसम्मत हुदाँ खगराज पक्षबाट सचिवमा भिम कण्डेल बटम लाईन हुन्छ । पिएस टिमबाट उनलाई सचिवमा राख्न नहुने अडान हुने देखिन्छ । श्रेष्ठ सर्वसम्मत हुदा बाँकी उपाध्यक्ष, सचिव र दुई उपसचिवलाई पिएस र खगराज टिमले बड्न सक्छन् । यस्तोमा पिएस टिमबाट उपाध्यक्षमा यमुनाथ आर्चाय वा राम प्रसाद मरासनी मध्ये एक र खगराज टिमबाट सचिवमा भिम कण्डेल बन्ने देखिन्छ ।

उपसचिवमा खुल्ला र महिला कुन पक्षले लिने भन्नेमा ठुलै रस्साकस्सी हुने सम्भावना पनि छ । उपसचिवमा पिएस टिमबाट दिपक लम्साल, मदन गिरी, रामकृष्ण ढुंगाना, सागर पोखरेल मध्य एक जनाको सम्भावना छ । उपाध्यक्षमा यमुनाथ र उपसचिवमा मरासनी हुने समेत सम्भावना हुने एमाले स्रोतको दावी छ ।

सचिवमा भिम कण्डेल र्निविकल्प हुदा खगराज टिमबाट खुल्ला तर्फ उपसचिवमा षडानन्द लामिछाने, बाबुराम पाण्डे, अध्यक्षमा दावी गरेका होमनाथ जैसी मध्य एक जना बन्ने छन् ।

महिला उपसचिवमा खगराज टिमका धेरै जना आकांक्षी छन् । प्रदेश कमिटीमा पराजित सिता पंगेनी, सिता खड्का र पार्वता तिवारी महिला पदाधिकारी बन्ने दाउमा छन् । अनेमा संघ जिल्ला सचिव बालु पुरीको पनि सम्भावना उच्च रहेको छ ।

पिएस टिमले भने सचिव लिने टिमले महिला नै लिनु पर्ने दवाव दिन सक्छ । पिएस टिमबाट कल्पना देवकोटा सर्वसम्मत हुदा उपसचिव बन्न सकिन्छन् भने  अनेमा संघ जिल्ला उपाध्यक्ष याममाया दर्लामी नाम समेत महिला उपसचिवका लागी चर्चामा रहेको छ ।

 

चुनावी समिकरणः पाण्डे र कण्डेल बीच नै हुन सक्छ प्रतिस्पर्धा

पिएस टिमबाट मुक्तिराम पाण्डे र्निविकल्प अध्यक्षको उम्मेदवार हुदाँ खगराज टिममा भने होमनाथ जैसी र कण्डेल मध्य एक जना अध्यक्षको उम्मेदवार बन्न सक्ने देखिन्छ ।

जैसी भन्दा कण्डेलले टिमबाट टिकट पाउने सम्भावना उच्च छ । स्वयम् भिम कण्डेलले नै जैसी आफ्नो टिमको कमजोर उम्मेदवार भएकाले आफु बाध्यताले अध्यक्षमा उठ्नु पर्ने अवस्था आएको सुनाउने गरेका छन् । विभिन्न व्यक्तिहरु संग उनले आफु सर्वसम्मत बन्दा सचिव बन्न चाहेपनि टिमले आफैलाई अध्यक्षमा अगाडी सार्ने बताउने गरेका छन् ।

पार्टी उपसचिव र कार्यालय सचिव भएकै बेला बोर्डिङ्गको प्रिन्सिपल बनेका कण्डेलले आफुलाई केन्द्रमा राखेर बहस चलाउन मात्रै चाहेको कतिपयको बुझाई छ । तर, उनि निकट व्यक्तिहरु भने कण्डेल उम्मेदवार हुने भन्ने सन्देश केही दिन देखि दिइरहेका छन् । फेसबुकमा उनको फोटाहरु एकै पटक केही युवाले पोष्ट गर्नुलाई त्यहीं अर्थमा बुझाई छ ।

अध्यक्षमा कण्डेल हुदाँ उपाध्यक्षमा रोशन थापा, सचिवमा होमनाथ जैसी, उपसचिवमा षडानन्द लामिछाने र उपसचिवमा सिता पंगेनी वा बालु पुरी खगराज टिमबाट पदाधिकारी बन्न सक्छन् । अध्यक्षमा होमनाथ उपाध्यक्षमा रोशन, सचिवमा भिम, उपसचिवमा षडानन्द र उपसचिवमा बालु हुने सम्भावना पनि रहेका खगराज टिममा रहेका नेताहरु बताउछन् ।

यता हालका अध्यक्ष मुक्तिराम पाण्डे भने भूगोल, समावेशीता सबै हेरेर आफ्नो टिम टुंगाउने रणनीतिमा छन् । पाण्डे नेतृत्वबाट उपाध्यक्षमा हालका उपसचिव यामुनाथ आर्चाय, सचिवमा रामप्रसाद मरासनीको सम्भावना उच्च छ । उपसचिवमा छनोटमा उक्त टिमलाई सकस पर्ने देखिन्छ । दिपक लम्साल, सागर पा्ेखरेल, मदन गिरी र रामकृष्ण ढुंगाना मध्य एक जना बन्ने सम्भावना छ । उपसचिवमा याममाया दर्लामी र कल्पना देवकोटाको चर्चा छ । यद्यपी खगराज टिमबाट हुने उम्मेदवारी हेरेर रणनीति फेरबदल हुन सक्छ । नेता रोशन गाहाको इच्छा अनुसार एक जना जनजाति पदाधिकारी बनाउने दवाव त्यो टिममा छ । बौदिकालीका श्यामसुन्दर श्रेष्ठलाई पनि पदाधिकारी बनाउने विषयमा टिममा छलफल भइरहेको एक नेताले बताए ।

तिलक महतले धेरैलाई पदाधिकारी बाडेका कारण उनको टिममा देखिएका कतिपय अन्तिममा तान्न सकिने रणनीति पनि पाण्डे टिमको हुन सक्छ ।

 

प्रकाशित : २०८० चैत २६ गते १०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI