माघ ९ देखि छैठौं नवलपुर महोत्सव

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १७ गते १२:४५
माघ ९ देखि छैठौं नवलपुर महोत्सव

नवलपुर-कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार भन्ने नाराको साथ यहि माघ ९ गते देखि १९ सम्म छैठौं नवलपुर महोत्सव आयोजना हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघले आज कावासोतीमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको छ ।


नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न जिल्लाका पर्यटकिय गन्तव्यलाई पहिचान गरि आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, स्थानीय तथा राष्ट्रियरुपमा उत्पादन भएका वस्तुहरुको कलात्मक प्रदर्शन गरि आयआर्जनमा जोड दिन, नवलपुरका विभिन्न क्षेत्र उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि प्रबर्द्धन गर्न , नवलपुरको मौलिक लोक संस्कृति भेषभुसाको प्रचारप्रसार तथा प्रबर्द्धन गर्न, नवलपुर क्षेत्रमा लगानी भित्राउने लगाएतका उदेश्यहरुका साथ महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यसै गरि नवलपुरको पहाडी क्षेत्रमा उत्पादन हुने सुन्तला, अदुवा, तरुल, अमृसो जस्ता कृषि उत्पादनको प्रचारप्रसार व्यावसायिक उत्पादनमा महोत्सवले जोड दिने बताईएको छ ।


महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी/समूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडियल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान, नवलपुरको धार्मिक तथा भौगोलिक क्षेत्र समेटिएको वृतचित्र प्रदर्शनी लगाएतका कार्यक्रम रहने पत्रकार सम्मेलनमा बताईएको छ ।


करिब तीन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा अनुमानित ५ करोड कारोबार हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । महोत्सव कावासोती-३ मा रहेको राममन्दिर नजिकैको खेलमैदानमा हुने जनाईएको छ । महोत्सवमा २५० व्यापारीक स्टल सहित कुल २७५ स्टल रहने छन । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

प्रकाशित : २०७६ पुष १७ गते १२:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI