फलाम खानी उत्खनन अन्तिम चरणमा परीक्षण गर्दा फलाम भएको पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते ७:५८
फलाम खानी उत्खनन अन्तिम चरणमा परीक्षण गर्दा फलाम भएको पुष्टि

पुर्वी नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको छ ।
नवलपुरको धौवादी क्षेत्रमा भेटिएका फलामजस्तो पदार्थको चीनमा गरिएको परीक्षणले सो क्षेत्रमा फलाम नै रहेको प्रमाणित भएको बताउँदै उहाँले उत्खनन, प्रशोधन तथा उत्पादनका लागि स्थापना गरिएको सो कम्पनी सञ्चालनको ‘मोडालिटी’समेत तयार भइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ ।”
सरकारले नवस्थापित सो कम्पनीको अध्यक्षमा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई नियुक्त गरिएको छ । काठमाडौँस्थित खानी तथा भूगर्भ विभाग परिसरभित्र यस कम्पनीको कार्यालयसमेत स्थापना भई थप काम अगाडि बढिसकेको छ ।
कम्पनीको सञ्चालक समितिमा विभिन्न मन्त्रालयको प्रतिनिधित्व रहने गरी छिट्टै नै सञ्चालक समिति गठनका लागि प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को गत भदौ १, २ र ४ गतेको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारी स्वामित्व ५५ प्रतिशत
सो कम्पनीमा सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहनेछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिनेछ’ भनी उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । यो समाचार आजको गोरखापत्रमा छ ।

प्रकाशित : २०७६ पुष २८ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI