काङ्ग्रेसमा मिल्यो भागवण्डा: नेविसंघमा २१ पदाधिकारी सहित १२७ जनाको केन्द्रिय समिति

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १० गते २१:०१
काङ्ग्रेसमा मिल्यो भागवण्डा: नेविसंघमा २१ पदाधिकारी सहित १२७ जनाको केन्द्रिय समिति

काठमाडौं । नेपाली काँग्रेसमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठनका लागि गुटगत भागबन्डा मिलेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान १० बजेदेखि साझ ५ः३० बजेसम्म भएको शीर्ष नेताहरुबीचको छलफलले नेविसंघबारे सहमति जुटाएको छ । नेविसंघको तदर्थ समिति १२७ सदस्यीय हुनेछ । जसमा सभापति देउवाले पक्षले सभापति सहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री एउटा कोषाध्यक्ष र ४० जना सदस्य पाएको छ । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ महामन्त्री, २ उपाध्यक्ष २ सहमहामन्त्री र ३५ सदस्य पाएको छ । 
यता, सिटौला पक्षले २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य पाएको छ । नेविसंघका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइने नेताहरुबीच सहमति भएको छ । 
योसँगै करिब १ वर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेको नेविसंघले नयाँ नेतृत्व पाउने निश्चित भएको छ । पार्टीले १२ औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत वर्ष माघ २८ गते ११ औँ महाधिवेशनबाट आएको नैनसिंह महर नेतृत्वको निर्वाचित कार्यसमितिलाई राजीनामा दिन बाध्य पारिएको थियो । त्यसपछि फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गरेको थियो । सोही केन्द्रीय समितिले नेविसङ्घमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो । देउवाले १ वर्ष पुग्नैलाग्दा नेविसंघलाई नयाँ नेतृत्व दिन लागेका छन् । सबै नेताहरुले आफ्नो समूहबाट नाम दिएपछि आइतबारसम्म नेविसंघले नयाँ नेतृत्व पाउनेछ । नेविसंघको नयाँ नेतृत्वमा सुनसरीका ५० वर्ष आसपासका राजीव ढुंगानालाई ल्याउने देउवाको तयारी छ । तर, नेविसङ्घ विधानमा ३२ वर्षे उमेर हदको व्यवस्था गरिएको छ । विधान कार्यान्वयनको मागसहित नेविसङ्घ निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा एक महिनादेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी छ । उनले आफू अब आमरण अनशनको तायरीमा जुटेको बताए । यता नेविसंघका निर्वतमान सभापति महरले पार्टीका नेताहरुबीच सहमति हुनु स्वागतयोग्य भएपनि नेविसंघबारे विधान विपरीत लिइएको निर्णय गलत भएको बताए । उनले भने, ‘काँग्रेसभित्र पाँडे प्रवृत्ति सुरु भएको छ । गुट र व्यक्तिका निजी आकांक्षा पूरा गर्नका लागि विधान कुल्चिने काम भएको छ । त्यसका विरुद्धमा बोल्ने कुनै नेता छैन । यस्तो प्रवृतिले पार्टी संगठनलाई राम्रो गर्दैन ।’ 
उनले विधान विपरीत हुने सहमतिले पार्टीलाई क्षति पुर्याउने बताए ।  नेविसंघमा भागबण्डा मिलेसँगै अन्य विवादित विषयमा पनि सहमति भएको छ ।महाधिवेशन तोकिएकै समयमा गर्ने सहमति भएको छ भने तल्ला तहको अधिवेशनको मिति केही हेरफेर हुनेछ । नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ ।
सबै विषयमा कुरा मिल्दा पनि नेविसङ्घको विवाद नसुल्झिएपछि इतरको उपस्थिति बिना गत ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने, पार्टीका विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको सङ्ख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद थप्ने निर्णय लिएको थियो । उक्त निर्णयपछि काँग्रेसमा चुलिएको विवाद आजको सहमतिसँगै किनारा लागको छ । 

प्रकाशित : २०७६ माघ १० गते २१:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI