सडक डिभिजनका प्रमुख बिरूद्ध ४ करोडको भ्रष्टाचार मुद्दा दायर

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ६ गते १०:३०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

चौधरीले पदीय मर्यादाविपरीत ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

चौधरीले सडक विभागमा कार्यरत रहँदा सडकका विभिन्न आयोजनाहरुमा ठेकदारहरूसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको थियो।

अनुसन्धानमा चौधरीले अवैधानिक रूपमा पदको दुरुपयोग गरी आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। अख्तियारले दायर गरेको आरोपपत्रमा चौधरीले सडकका विभिन्न आयोजनाका ठेकदारहरूसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उल्लेख छ।

चौधरीका परिवारले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका विभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ। 

चौधरीले विभिन्न बैंक खातामा रहेका मौज्दात समेतमा खर्च लगानी गरेको देखिँदा उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आरोपपत्रमा उल्लेख छ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय हुनुपर्ने दाबी अख्तियारको छ।

प्रकाशित : २०७६ फागुन ६ गते १०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI