कोरोना निर्मुल पार्न भन्दै सांसद चौधरीले गरे शाश्वतधाममा पुजा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते २२:१०
कोरोना निर्मुल पार्न भन्दै सांसद चौधरीले गरे शाश्वतधाममा पुजा

नारायण शर्मा/नवलपरासी — दुम्कौलीस्थित शाश्‍वतधाम मन्दिरमा शनिबार कोरोना भाइरस निर्मूल पार्न भन्दै पूजा गरिएको छ । मन्दिर परिसरमा रहेको हवन मण्डपमा ५ जना पण्डितले शनिबार दिउँसो पौने ३ घण्टा हवन र पूजा गरेका हुन् । दिउँसो ४ बजेबाट ७ बजेसम्म पूजा गरिएको पूजामा मन्दिरका संरक्षक तथा सांसद विनोद चौधरी परिवारसहित सहभागी थिए। मन्दिर परिसरमा वैदिक कर्मकाण्ड गुरुकुलका प्राचार्य विष्णुप्रसाद घिमिरे समेत ५ जना पण्डित खटिएका थिए। संसारभरीका प्राणीजगतको कल्याण, कोरोनाको संक्रमण अन्त्य होस भन्‍ने कामना गरेर हवन, महामृत्युन्जय र अघोरमन्त्र जाप गरिएको घिमिरेले बताए। उनले ती मन्त्र ५/५ सय पटक जप गरेर हवन गरिएको बताए।

पूजामा जानुअघि सहभागीलाई साबुन पानीले हातधुने, सेनिटाइजरको प्रयोग गरेर तीन फिट दूरीमा राखिएको थियो। मानव कल्याणका लागि हिन्दु विधि अनुसार मन्त्र जपेर पूजाआजा गर्नाले महामारी रोग नियन्त्रण हुने पण्डित घिमिरेले दाबी गरे। चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठले कोरोना महामारीको त्रासबाट मानव कल्याणका लागि शास्वतधाम मन्दिरकातर्फबाट संकल्प पूजा गरिएको बताए। विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य सचेतनाको मापदण्ड पूरा गरेर मन्दिरमा पूजा तथा हवनमा गरिएको उनले बताए।

प्रकाशित : २०७६ चैत ८ गते २२:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI