सेनाले प्रयोगमा ल्यायो कोभिड-१९ रेस्पोन्स एप

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते १:४५
सेनाले प्रयोगमा ल्यायो कोभिड-१९ रेस्पोन्स एप

काठमाडौं। नेपाली सेनाले कोभिड–१९ महामारी रोकथाम, प्रतिकार र नियन्त्रणका लागि आवश्यक सूचना संकलन गरी आकस्मिक सेवा प्रवाह गर्न बनाइएको मोबाइल एप सञ्चालनमा ल्याएको छ। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज अबेर राति विज्ञप्तिमार्फत् यसबारे जानकारी गराएको हो। 

सेनाले यो मोबाइल एपको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ सम्बन्धी कुनै पनि लक्षण देखिएमा त्यससम्बन्धी विवरण पठाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

साथै विपत्को घडीमा जनमानसमा विभिन्न अफवाहहरू फैलिने क्रम रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्नसमेत यो एपले सहयोग पुर्‍याउने सेनाले जनाएको छ। एपमार्फत् प्राप्त हुने डाटालाई परिस्थितिको व्यवस्थापन, विश्लेषण र बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोग गरिने सेनाको भनाइ छ।

नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np बाट यो एप डाउनलोड गर्न सकिने र हाललाई यो एप एन्ड्रोइड मोबाइल फोनको लागि मात्र तयार पारिएको सेनाले जनाएको छ। केही दिनमा भने यसलाई एप्पलको मोबाइल फोनको लागिसमेत समावेश गरिनेछ।

सेनाका अनुसार प्रयोगकर्ताले शुरूमा आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्छ।

त्यसपछि एप प्रयोगकर्ताले सेनाले जारी गरेका सूचना सहजरूपमा पाउन सक्ने, आफ्नो परिवार, छरछिमेक र साथीभाइमा कोभिड–१९ सम्बन्धी कुनै लक्षण देखिएमा बिरामीको व्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ।

प्रकाशित : २०७६ चैत १६ गते १:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI