५० वर्ष पुरानो गीत गाएर अमेरिकन आइडल ‘टप-१०’ मा पुगेका दिवेश (भिडि‌ओ)

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २७ गते १:२०
५० वर्ष पुरानो गीत गाएर अमेरिकन आइडल ‘टप-१०’ मा पुगेका दिवेश (भिडि‌ओ)

२७ वैशाख । अमेरिकन आइडल’ को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेश कार्यक्रममा ‘अर्थर गन’ नामबाट प्रतिस्पर्धा गरिरहेका छन्।

गायन प्रतियोगिता कार्यक्रम ‘अमेरिकन आइडल’ संसारभर चर्चित छ। उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति हुन्छ।

यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडल दिवेशको सहभागितासँगै नेपालीहरूका लागि खास बनेको छ। कोरोना भाइरसको त्रासमाझ जारी कार्यक्रममा उत्कृष्ट १० को छनौटका घरबाटै भिडिओ अडिसन गरिएको छ।

भिडिओ अडिसनमा दिवेश सुरूमा आफ्नो घरमा ममः बनाउँदै गरेको देखिन्छन्। उनले ममः नेपालमा खुबै चर्चित खानेकुरा भएको भन्दै यसले आफूलाई ‘नोस्टाल्जिक’ अनुभव गराउने बताउँछन्।

उनले यही भावनासँग मिल्दो गीत अडिसनका निम्ति छानेका छन्- सन् १९७१ मा सार्वजनिक भएको जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’।  यो गीत गाउँदा दिवेश मग्न देखिन्थे। उनले यो गीत आफ्ना लागि मात्र नभएर संसारका धेरै मान्छेका लागि यो समयमा उपयुक्त हुने बताए ।

लकडाउनका कारण धेरै मान्छे कहीँ अड्किएका त कहीँ एक्लिएका छन्। यो गीतले यी भावनालाई उज्यालोतर्फ डोर्‍याउने आशा उनको छ। उनले गाएको गीत ‘कन्ट्री’ विधामा पर्छ जुन दिवेशकै रोजाइ र दख्खल पनि हो।

आजभन्दा झन्डै ५० वर्षअघिको यो गीत बिल ड्यानोफ, ट्याफी निवर्ट र गायक जोन डेन्भरले मिलेर लेखेका हुन्। यो गीत त्यो बेला यति चर्चित भयो, पछि डेन्भरको परिचयनै यसैमा जोडियो। वेस्ट भर्जिनियालाई स्वर्ग मानिएको भावको यो गीतको चर्चा आज पनि मेटिएको छैन। सन् २०१४ मा यो गीतलाई वेस्ट भर्जिनियाको राज्य-गानमा समावेश गरियो। योसहित वेस्ट भर्जिनियामा चार आधिकारिक राज्य-गीत छन्। वेस्ट भर्जिनियामा आधारित भए पनि गीतले सबैलाई ‘नोस्टाल्जिक’ बनाउने दिवेशको भनाइ छ।

दिवेश करिब पाँच वर्षअघि अध्ययन सिलसिलामा अमेरिका पुगेका हुन् जो हाल कान्सास, विचिटामा बस्छन्।  अमेरिकन आइडलको आँगनमा पाएको स्वागत र प्रशंसाले आफू निकै उत्साही भएको उनले बताएका छन् ।

प्रकाशित : २०७७ वैशाख २७ गते १:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI