एम्बुलेन्समा लागुऔषध ओसारपसार, ८ किलो चरेस सहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २५ गते १३:४२
एम्बुलेन्समा लागुऔषध ओसारपसार,  ८ किलो चरेस सहित पक्राउ

सर्लाहीमा एम्बुलेन्सको प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेको पाइएको छ ।सदरमुकाम मलङ्गवाबाट लागु औषध चरेससहित तीन जना पक्राउ परेपछि यो रहस्य बाहिरिएको हो ।

सुराकको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राति ११ः३० बजेतिर मलङ्गवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई आठ किलो चरेससहित पक्राउ गरेको थियो ।

रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६, को नाममा रहेको ज १ च १४०७ नंं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्सका चालक मलङ्गवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलङ्गवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरिएको छ ।

८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई लागुऔषध भारतसम्म पुर्याइदिन जिम्मा लगाएको बयान दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभएको छ ।

प्रकाशित : २०७७ जेठ २५ गते १३:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI