बजेटमा नवलपुरलाई उपेक्षा गरियो : ओमकला गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ४ गते १८:०१
बजेटमा नवलपुरलाई उपेक्षा गरियो : ओमकला गौतम

पोखरा-गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कान्छो जिल्ला नवलपुरलाई उपेक्षा गर्न खोजिएको सांसद ओमकला गौतमले बताएकी छिन् ।

विहिबार प्रदेश सभाको बजेटमाथिको दफाबार छलफलमा सहभागी हुँदै गण्डकी सरकारको बजेट गौरव गर्ने खालको नरहेको बताइन् । उनले अहिलेको बजेटलाई पोके र धोकेको संज्ञा दिएकी छिन् ।

उनले भनिन्,‘प्रदेशको कान्छो जिल्ला भन्ने तर गण्डकी सरकारले नवलपुर जिल्लालाई जहिले पनि उपेक्षा गर्ने प्रवृति छ । कान्छो जिल्लाको स्थरउन्नतिमा प्रदेश सरकारको ध्यान पुगेको छैन ।

नवलपुर जिल्लाको सदरमुकामको पूर्वाधार विकासका लागि २ करोड छुट्टाइएको छ । दुई करोडले एउटा क्लबको भवन बनाउन कठिन भएका बेला जिल्लाको कामकारबाही कसरी अगाडि बढ्छ ?’ भर्खरै थपिएको जिल्लामा बाटोघाटोको राम्रो व्यवस्था नभएको तर बजेटमा समेत उल्लेख नगरिएको देख्दा प्रदेश सरकारको सांसद भन्न लाज लागिरहेको उनले बताइन् ।

प्रत्येक वर्षको बजेट भाषणमा अर्थमन्त्रीज्युले ठूला ठूला विकासका आयोजना कागजमा लेखेर ल्याउनुहुन्छ तर काम भने शुन्य भएको उनले बताइन् । व्यवस्था फेरिए पनि अवस्था उही रहेको उनको जिकिर थियो ।

बजेट महिला मैत्री नरहेको उनले उल्लेख गरिन् । रोजगारीको क्षेत्रको वृतिविकासमा समेत बजेट लचिलोपन भएको उनले बताइन् । समानताको नारा लगाउने सरकारले व्यवहार तल झारेको अनुभुति भएको उनले बताइन् । महिलालाई हरेक प्रकारको रोगको निशुल्क उपचार गराउने जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै कोरोना रोकथाम तथा नियन्त्रणमा गति बढाउन उनले सुझाइन् ।

प्रकाशित : २०७७ असार ४ गते १८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI