क्यारेबियन लिग : सन्दिप १ करोड ७ लाखमा जमैका तल्लावाहबाट खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते २१:४०

एजेन्सी । स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने महँगो मूल्यमा क्यारेबियन प्रिमियर लिगको आठौँ संस्करण खेल्न छनौट भएका छन्।

अनलाइन मार्फत दुइ साता अघि सम्पन्न ड्राफ्टमा २३ देशका ५ सय ३७ खेलाडीहरु सहभागी रहेका थिए। ड्राफ्टको नतिजा सोमबार बेलुका आयोजकले सार्वजनिक गरेको हो।

सन्दिपलाई जमैका तल्लावाहले आफ्नो टिममा लिएको छ। सन्दिपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर राखेका थिए। अर्थात सन्दिपले नेपाली रुपैयाँ १ करोड ७ लाख ४६ हजार पाउनेछन्। यो सन्दिपले विदेशी लिग खेल्दा पाएको घोषित मध्ये दोश्रो धेरै रकम हो। यस अघि इंग्ल्याण्डको ‘द हन्ड्रेड’ प्रतियोगितामा छनौट हुँदा सन्दिपले १ लाख पाउण्ड ( करिब डेढ करोड रुपैयाँ ) पाएका थिए। द हन्ड्रेड प्रतियोगिता कोभीड-१९ का कारण आयोजना हुन पाएको छैन।

सिपिएल टि-२० को आठौँ संस्करण १८ अगस्ट देखि १० सेप्टेम्बरमा आयोजना हुनेछ। कोभीड-१९ का कारण प्रतियोगिता आयोजना हुने नहुने संशय भने अझै बाँकी रहेको छ। प्रतियोगिता दर्शक बिना खेलाइने आयोजकले बताउदै आएको छ तै पनि सरकारी अनुमति भने अझै लिगले पाएको छैन।

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

क्यारेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाह, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

सन्दिपको टिममा को-को छन् 

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपको सीपीएल टि-२० मा हालसम्मको प्रदर्शन

प्रतियोगिताको अघिल्लो संस्करणमा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका सन्दिपले मात्र ६ खेल खेल्न पाएका थिए जुन क्रममा कुल ८ विकेट लिएका थिए। ६ खेल खेलेपछि सन्दिप त्रिकोणात्मक टि-२० सिरिज खेल्न सिंगापुर पुगेका थिए।

सन्दिपले करेबियन प्रिमियर लिगको पहिलो सिजन २०१८ मा खेलेका थिए जुन क्रममा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको लागि ५ खेल खेल्दै ७ विकेट लिएका थिए। उक्त सिजन पनि सन्दिपले लिग बीचमै छोड्नु परेको थियो र एसिया कप छनौट खेल्न लिग छोडेर मलेसिया जानु परेको थियो।

कुल ११ खेल खेल्दा सीपीएलमा सन्दिपले १५ विकेट लिएका छन्।

सन्दिपले खेलेका विदेशी टि-२० लिगहरु :-

१. हंगकंग टि-२० ब्लिटज २. इन्डियन प्रिमियर लिग ( आईपीएल ) ३. ग्लोबल टि-२० क्यानडा ४. करेबियन प्रिमियर लिग ५. बिग ब्यास ६. टि-१० लिग ७. अफगानिस्तान प्रिमियर लिग ८. बंगलादेश प्रिमियर लिग ९. पाकिस्तान सुपर लिग

प्रकाशित : २०७७ असार २२ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI