आज कम्युनिष्ट पार्टीको संस्थापक पुष्पलालको ४२ औं स्मृति दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते ८:५२
आज कम्युनिष्ट पार्टीको संस्थापक पुष्पलालको ४२ औं स्मृति दिवस

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए ।

त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आज पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित : २०७७ साउन ७ गते ८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI