कारमा मृत भेटिएका तीन बालकको शव पहिचान, गाडी मालिक र चालक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते ८:०५
कारमा मृत भेटिएका तीन बालकको शव पहिचान, गाडी मालिक र चालक पक्राउ

तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेका छन् ।
तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।

तीनैजना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको र १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडीभित्र उनीहरूको शव भेट्टाएको एसपी चन्दले बताएका छन ।

 

उनका अनुसार  प्रहरी अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए ।

साथै, शनिबार साझ नै इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।

मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको एसपी चन्दको भनाइ छ ।

प्रकाशित : २०७८ वैशाख १९ गते ८:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI