भिडियो खिच्न आउनेले मेरो जनतालाई दु:ख दिए, प्रहरी पठाइदिनु पर्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते १५:१५
भिडियो खिच्न आउनेले मेरो जनतालाई दु:ख दिए, प्रहरी पठाइदिनु पर्‍यो

दैलेख : कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले नराम्रा भिडियो खिच्न आउनेहरुले आफूहरुलाई दुःख दिएको बताएका छन् । सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको फिरन्ते जाति राउटे समुदायका अगुवाहरुले विभिन्न वहानामा भिडियो फोटो खिच्नेहरुले आफूहरुलाई दुःख दिएको बताएका हुन् ।

राउटे समुदायका युवा सोविन शाहीले बाहिरका मान्छेहरु आएर तिम्रा दिदीबहिनीहरु कहाँ छन् भन्दै सोध्ने गरेको बताए। ‘बाहिरका मान्छे बस्तीमा आएर भिडियो खिच्छन्, नराम्रो नराम्रो बोल्न लगाउँछन् त्यो हामीलाई मन पर्दैन ,’उनले भने। बस्तीमा राम्रो मान्छेहरु पनि आउने गरेको सोविन बताउँछन् । ‘हामीलाई चामल, दाल, तेल कपडा लिएर सहयोग गर्न आउने मान्छेहरु देखेर खुसी लाग्छ तर, टिकटक बनाउने, नराम्रो बोली बोल्न लगाएर भिडियो खिच्नेहरुले हामीलाई दुःख दिएँ,’ उनले भने।

सोविनले बाहिरका मान्छेलाई आफूहरुको बस्तीमा आउन बन्देज गरिदिनका लागि प्रहरी पठाइदिन आग्रह समेत गरेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले नचिनेको मान्छेहरु बस्तीमा आएर आफूहरुलाई दुःख दिइरहेको बताए । उनले भने, ‘पहिला पहिला हाम्रो बस्तीमा कोही पनि आउँदैनथ्यो, अहिले नचिनेको मान्छेहरु आउँछ, मेरो जनतासँग नराम्रो व्यवहार गर्छ, त्यो हामीलाई चित्त बुझेको छैन् ।’ मुखिया शाहीले आफूहरु बसिरहेको बस्तीमा नराम्रो भिडियो, फोटो खिच्न आउनेहरुलाई बन्देज लगाउन सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय युट्युवका लागि भिडियो खिच्ने, टिकटक बनाउने नाममा निर्वाध रुपमा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराएर अस्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका अस्लिल कामहरु गर्ने गरेका छन् ।  खुलेयाम राउटे बस्तीमा प्रवेश गरेर युट्युव, टिकटकका लागि अश्लिल भिडियो बनाउनेहरुबाटै राउटे युवतीहरु यौन दुव्र्यवहारको सिकार बन्न थालेका छन् ।

हालै समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार बनेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका -११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा थुनेर दुव्र्यवहार गरेको खुलेको हो । गुर्भाकोटका स्थानीय युवाहरूले यौन दुव्र्यवहार गरेका हुन् । युवाहरुले दुव्र्यवहारसँगै ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।

गत शनिबार उक्त भिडियो सार्वजनिक भएपछि सुर्खेत प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले स्थानीय शुभकामना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय चमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर लट्ठ पारी यौन दुव्र्यवहार गरेको भिडियोमा देखिन्छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

राउटे युवतीहरुलाई यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई घटनाको गहन अनुसन्धान गरी कडा कारबाही गर्न सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाहरुले माग गरेका छन् । गुराँस गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

राउटे नागरिकहरु दैलेखको गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । यद्धपी उनिहरु दैलेख तथा सुर्खेतका विभिन्न जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका छन् । राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान ग¥यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । अहिले राउटे समुदायको जनसंख्या एक सय ४५ छ ।-अन्नपूर्ण पोस्ट डटकम बाट

प्रकाशित : २०७८ जेठ २४ गते १५:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI