युरोकपमा शुक्रबार रातिका दुवै खेलमा जित–हार निस्केन, अन्तिम खेलबाटै नकआउटको टुंगो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ५ गते ७:४३
युरोकपमा शुक्रबार रातिका दुवै खेलमा जित–हार निस्केन, अन्तिम खेलबाटै नकआउटको टुंगो

युरोकप फुटबलको १६ औं संस्करणको शुक्रबार रातिका दुवै खेल बराबरीमा सकिएका छन् । समूह डी का दुवै खेलमा क्रोएसियाले चेक गणतन्त्रसँग र इङ्गल्याण्डले स्कटल्याण्डसँग बराबरी खेलेको हो ।

दुवै खेलमा बराबरीको नतिजा आएसँगै राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो शुक्रबार नै लागेन । अब तेस्रो चरणको खेलबाटै शीर्ष दुईमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो लाग्नेछ । ६ समूहबाट तेस्रो स्थानका उत्कृष्ट चार टिम पनि राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले त्यसको टुंगो भने समूह चरणका सबै खेल सकिएपछि मात्र लाग्नेछ ।

क्रोएसिया र चेक गणतन्त्रको खेल
क्रोएसिया र चेक गणतन्त्रले हाम्पडेन पार्कमा भएको खेलमा १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूवाती अग्रता भने चेक गणतन्त्रले लियो ।

खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गरे क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेकले पेनाल्टी पाएको थियो ।

४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । यसअघि क्रोएसिया इङ्गल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

इङ्गल्याण्ड र स्कटल्याण्डको खेल 
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा गोलरहित बराबरीमा खेल टुंगिएको हो । खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलमा इङ्गल्याण्ड अभागी सावित भएको थियो । १२ औं मिनेटमा  जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।


अंक तालिका
दोस्रो चरणको खेलपछि समूह डीमा चेक गणतन्त्र २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेकले पहिलो खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले हराएको थियो ।

इङ्गल्याण्ड खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । उसले क्रोएसियालाई १–० ले मात्र हराएको थियो ।

क्रोएसिया र स्कटल्याण्ड समान १–१ अंकबाट तेस्रो र चौथो स्थानमा छन् ।

अन्तिम चरणको खेलमा क्रोएसियाले स्कटल्याण्डसँग र चेकले इङ्गल्याण्डसँग खेल्नेछ । पहिलो र दोस्रो टिमले बराबरी खेलेका खण्डमा दुवै टिम अन्तिम १६ मा पुग्दा अर्को खेलको विजेता उत्कृष्ट चार भित्र परेर उक्त टिम पनि पुग्न सक्नेछ ।

प्रकाशित : २०७८ असार ५ गते ७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI