युसुफ खान यसरी बने दिलीपकुमार

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते ०:४२
युसुफ खान यसरी बने दिलीपकुमार

प्रख्यात भारतीय अभिनेता दिलीपकुमारको मुम्बईस्थित हिन्दुजा अस्पतालमा निधन भएको छ । पढ्नुस् उनी कसरी युसुफ खानबाट दिलीपकुमार बनेका थिए :

दुनियाँले जसलाई दिलीप कुमारको नामले जान्दछ, जसको अभिनयको उदाहरण दिइन्छ, उनलाई न फिल्ममा काम गर्न रुची थियो न उनले कहिल्यै आफुलाई नयाँ नामबाट दुनियाँले याद गर्नेछ भनेर सोचेकै थिएनन् ।

दिलीप कुमारका बाबु मुम्बईमा फलफूलका ठूला व्यापारी थिए । किशोरावस्था दिलीपकुमार आफ्नो पारिवारिक कारोबारमा संलग्न थिए । त्यति बेला दिलीपकुमारको परिचय व्यापारी मोहम्मद सरवरका खानका छोरा युसुफ सरवर खान थियो ।

एक दिन बाबुको गालीले चित्त दुखेपछि आफ्नै पैतालामा उभिने भन्दै युसुफ पुणे गए । अङ्ग्रेजी जानेकाले उनलाई पुणेस्थित ब्रिटिस आर्मीको क्यान्टिनमा सहायकको जागिर मिल्यो ।

त्यही उनले आफ्नो स्यान्डविच काउन्टर खोले, जो अङ्ग्रेज सैनिकमाझ निकै प्रख्यात भयो । तर, यही क्यान्टिनमा उनले एक दिन भारतको स्वतन्त्रताको लडाईंको समर्थन गरे, जसकारण उनी पक्राउ परे, काम बन्द भयो ।  आफ्ना यी अनुभवहरूबारे दिलीपकुमारले आफ्नो आत्मकथा ‘द सबस्ट्यान्स एन्ड द स्याडो’ मा चर्चा गरेका छन् ।

युसुफ खान फेरि बम्बई फर्किए र उनले बाबुसँग सहयोग भागे । उनले तकिया बेच्ने काम पनि थाले, जो सफल भएन । पिताले नैनीताल गएर स्याउको बगैँचा किन्ने काम सुम्पिएका थिए, युसुफले एक रुपैयाँमै बैना गरे ।

ती बगैँचाका मालिकका कारण यस्तो सम्भव भएको थियो, तर युसुफलाई बाबुले धेरै स्याबासी दिए ।

व्यापारका यी दिनमा आम्दानी बढाउनका लागि यसरी नै एक दिन ब्रिटिस आर्मीको दादरस्थित क्याम्पमा जानु थियो । उनी चर्चगेट स्टेसनमा लोकल ट्रेनको प्रतीक्षा गरिरहेका थिए, तब त्यहाँ उनले प्रख्यात मनोवैज्ञानिक डाक्टर मसानीसँग भेटे ।

यी डाक्टर ‘बम्बे टाकिज’ की मालिक्नी देविका रानीसँग भेट्न गइरहेका थिए । उनले युनुसलाई पनि आफूसँग जान प्रस्ताव गरे । त्यहाँ कुनै काम बन्न सक्छ भनेर यी डाक्टरले भने । पहिलोपटक फिल्म स्टुडियो हेर्न पाइने आकर्षणले युनुसलाई खिच्यो, उनी डाक्टरको पछि लागे ।

देविका रानीको भरोसा 

उनलाई के थाहा, कि भाग्य बदलिनेवाला छ । बम्बे टाकिय यस समयको सबैभन्दा सफल फिल्म प्रोडक्सन हाउस थियो । यसकी मालिक्नी देविका रानी फिल्म स्टार हुनुका साथै अत्याधुनिक र दूरदर्शी महिला थिइन् ।

युसुफ र डाक्टर मसानीलाई यी महिला निकै सभ्य लाग्यो । डाक्टर मसानीले  युुसुफको परिचय देविका रानीलाई  दिए ।

देविका रानीले सोधिन् ः ‘के तिमीलाई उर्दू आउँछ ?’ युसुफले जवाफ दिनुभन्दा पहिले नै डाक्टर मसानीले देविका रानीलाई पेशावरबाट मुम्बई पुगेको उनको परिवार र फलफूलको कारोबारबारे बताए ।

यसपछि देविका रानीले युसुफसँग सोधिन्, ‘के तिमी अभिनेता बन्छौं ?’ यस प्रश्नसँगै देविका रानीले उनलाई मासिक १२ सय ५० भारतीय रुपैयाँको जागिरको प्रस्ताव पनि गरिन् । डाक्टर मसानीले युसुफलाई यस प्रस्ताव स्विकार्न इशारा गरे ।

तर, युसुफले धन्यवाद दिँदै आफूसँग कुनै जागिरको अनुभव र सिनेमाबारे जानकारी नभएको बताए ।

देविका रानीले सोधिन्,‘तिमी फलफूलको कारोबारबारे कति जान्दछौ ?’ युसुफको जवाफ थियो, ‘हो, म सिक्दैछु ।’

देविका रानीले भनिन्, ‘तिमी फलफूलको कारोबार र खेतीबारे सिक्दैछौं भने फिल्म मेकिङ र अभिनय पनि सिक्दै जानेछौँ । मलाई राम्रो देखिने र पढेलेखेका एक युवा अभिनेताको जरुरी छ । मैले तिमीमा एउटा राम्रो अभिनेता बन्ने योग्यता देखिरहेको छु ।’

वर्ष १९४३ मा १२ सय ५० भारु कति धेरै थियो ? यसको अन्दाज युसुफको प्रश्नबाटै लगाउन सकिन्छ । उनले डाक्टर मसानीलाई फेरि सोध्न लगाएका थिए, यो मासिक हो या वार्षिक तलब ? जब मसानीले यो मासिक तलब नै हो भनेर फेरि पुष्टि गरे । तब, युसुफले यसलाई स्विकार्दै ‘बम्बे टाकिज’ का अभिनेता बने ।

उनले बम्बे टाकिजमा शशिधर मुखर्जी र अशोक कुमारसहितका अन्य चर्चित अभिनेतासँग अभिनय सिक्न थाले । यसका लागि उनी हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्टुडियोमा हुन्थे ।

एक बिहान स्टुडियो पुगेका बेला उनलाई सन्देश आयो, ‘देविका रानीले आफ्नो क्याबिनमा बोलाएकी छिन् ।’ यस भेटबारे उनले आफ्नो आत्मकथामा लेखेका छन् । ‘युसुफ, म तिमीलाई चाडै फिल्ममा अभिनेताका रूपमा लन्च गर्न चाहन्छु । म चाहन्छु, तिम्रो एक स्क्रिन नेम होस् । यस्तो नाम जसबाट तिमीलाई विश्वले चिन्नेछ र दर्शकहरूले तिम्रो रोमान्टिक छविलाई त्यससँग जोडेर हेर्नेछन् । मेरो बुझाइमा दिलीपकुमार एक राम्रो नाम हो । तिम्रो नामबारे सोच्दै गर्दा यो मेरो दिमागमा आयो । तिमीलाई यो नाम कस्तो लागिरहेको छ ?’

दिलीपकुमार नाम राख्ने प्रस्ताव 

यो सुन्नासाथ युसुफको बोली बन्द भएको थियो र नयाँ पहिचानका लागि उनी तयार थिएनन् । त्यसैले उनले देविका रानीसँग भने, ‘यो नाम निकै राम्रो छ । तर, के यस्तो गर्नु जरुरी छ ?’

देविका रानीले हाँस्दै भनिन्,‘यस्तो गर्नु बुद्धिमानी हुन्छ । म धेरै सोचेर तिम्रो स्क्रिन नेम हुनुपर्छ भन्ने निष्कर्षमा पुगेको छु ।’

दिलीपले आफ्नो आत्मकथामा यो विषय लेखेका छन् । र, देविका रानीले भनेका कुरा पनि लेखेका छन् । ‘मैले फिल्ममा तिम्रो लामो र सफल करियर देखिरहेको छु । यस्तोमा स्क्रिन नेम राम्रो हुन्छ र यसमा एउटा निरपेक्षताको अपिल पनि हुन्छ ।’

यद्यपि, यो भारतको स्वतन्त्रताभन्दा पहिलोको कुरा थियो र त्यस समय हिन्दु र मुस्लिमका नाममा भारतीय समाजमा धेरै कटुताको स्थिति थिएन । तर केही वर्षभित्रै भारत र पाकिस्तान हिन्दु र मुस्लिमको नाममा विभाजित भए ।

तर, देविका रानीलाई बजारको जानकारी दियो । उनलाई थाहा थियो कि कुनै ब्रान्डका लागि दुवै समाजका मानिसहरुबीच स्वीकार्यताको स्थिति नै आदर्श स्थिति हुन्छ । यद्यपि, केवल मुस्लिम कलाकारहरूले मात्रै आफ्नो नाम बदलेर स्क्रिन नेम राख्नु परेको थियो भन्ने पनि होइन ।

दिलीपकुमारभन्दा अघि देविका रानीले आफ्नो पति हिमांशु रायसँग मिलेर कुमुदलाल गांगुलीलाई १९३६ को फिल्म ‘अछुत कन्या’ मार्फत अशोक कुमारका रूपमा स्थापित गरिसकेकी थिइन् ।

भारतीयका सिनेमाका पहिलो कुमार थिए अशोक 

वर्ष १९४३ मा अशोक कुमारको फिल्म ‘किस्मत’ सुपर डुपर हिट भएको थियो । यस फिल्मको सफलताले अशोक कुमारलाई सुपरस्टार बनाइदियो । अशोक कुमार भारतीय सिनेमाका पहिलो कुमार थिए । यही कारण ‘किस्मत’ फिल्मबाट हुने आम्दानीलाई देखेरै युसुफको स्क्रिन नेम छान्दा देविका रानीको दिमागमा कुमार थर आएको हुनसक्छ । तर, अशोक कुमारसँग घण्टौँ बिताए पनि दिलीपकुमारलाई यो कुरा थाहा थिएन । उनी अशोकलाई अशोक भैया भनेर बोलाउँथे । देविका रानीको तर्कमा युसुफ खान सहमत हुन सकेनन्, र उनले यसबारे विचार गर्न समय मागे । देविकाले भनिन्, ‘ठिक छ, विचार गर । तर चाडै बताउनु ।’

देविका रानीको क्याबिनबाट बाहिर निस्किएर स्टुडियोमा काम गरिरहेका बेला पनि युसुफको दिमागमा दिलीपकुमार नाम नै चलिरहेको थियो । शशिधर मुखजीले सोधे, ‘के सोचिरहेका छौँ ?’

तब दिलीपकुमारले देविका रानीसँग भएको कुराकानीबारे उनलाई बाए । एक मिनेटपछि शशिधर मुखर्जीले भने,‘मेरो विचारमा देविकाले ठिक भनेकी छिन् । उनले जो नाम सुझाइन्, त्यसलाई स्विकार्दा तिमीलाई फाइदा छ । यो निकै राम्रो नाम हो । यो दोस्रो कुरा हो कि म तिमीलाई युसुफ भनेर चिनिरहनेछु ।’

यस सल्लाहपछि युसुफ खानले दिलीप कुमार स्क्रिन नेमलाई स्विकारे । र, अमिय चक्रवर्तीको निर्देशनमा ‘ज्वार भाटा’ को सुटिङ सुरु भयो ।

‘ज्वार भाटा’ बाट सुरुवात 

१९४४ मा प्रदर्शनमा आएको यो फिल्मसँगै भारतीय फिल्म इतिहासलाई दिलीप कुमार मिल्यो । यद्यपि, यो फिल्म चलेन । पेङ्गुइन प्रकाशनबाट प्रकाशित बलिउडका २० सुपरस्टार नामक पुस्तकमा पत्रकार रऊफ अहमदले दिलीपकुमारबारे लेखेका छन् । ‘यस समयको चर्चित पत्रिका ‘फिल्म इन्डिया’ का सम्पादक बाबुराम पटेल दिलीप कुमारसँग प्रभावित थिएनन् । उनले  लेखेका थिए ः कुनै भोकोजस्तो देखिने व्यक्तिलाई फिल्ममा हिरो बनाएजस्तो देखिन्छ ।’

तर लाहोरबाट प्रकाशित हुने पत्रिका सिने हेराल्डका सम्पादक बिआर चोपडाले दिलीपकुमारको अभिनय क्षमता बुझेका थिए । उनले लेखेका थिए, ‘दिलीप कुमारले जुन तरिकाले यस फिल्ममा डाइलग डेलिभरी गरेका छन् । त्यसले उनलाई अन्य अभिनेताहरूभन्दा अलग गराउँछ । ’

पहिलो फिल्म नचले पनि देविका रानीको अनुमानअनुसार नै दिलीपकुमारको ख्याति चम्कदैं गयो र कुमार थरको जादु यति धेरै चल्यो कि हेर्दा हेर्दै भारतीय फिल्म जगतमा धेरै कुमारहरू जन्मिए ।

दिलीप कुमारलाई लिएर धर्म निरपेक्षताको भावको जुन सपना देविका रानीले देखेकी थिइन्, त्यो वास्तविक थियो भन्ने समयक्रमले देखियो । दिलीपकुमार आफ्नो अभिनयले निरपेक्षताको अनुहार बने । ‘गोपी’ फिल्ममा मोहम्मद रफीले गाएको भजन ‘सुखके सब साथी, दुख में ना कोई, मेरे राम, मेरो राम, तेरा नाम एक साँचा दूजा ना कोई’ मा उनले गरेको अभिनयले यसलाई प्रतिबिम्बित गर्छ । दिलीपकुमारले ६० भन्दा धेरै फिल्ममा काम गरे, त्यसमध्ये केवल ‘मुगल–ए–आजम’ मा मात्रै उनी मुस्लिम पात्रको भूमिकामा नजर आए । त्यसो त, धेरै अभिनेताहरूले स्क्रिन नेम अपनाएर सफल हासिल गरेका छन् । मुसलमान र हिन्दु दुवै कलाकार यस सुचीमा समावेश छन् ।

स्क्रिननेमको लामो इतिहास 

ऋषि कपूरले आफ्नो पुस्तक ‘खुल्लम खुल्ला’ मा बताएका छन् कि उनका पिता राज कपूरको वास्तविक नाम सृष्टि नाथ कपूर थियो । त्यसै गरी राज कपूरका भाइहरू शम्मी कपूरको वास्तविक नाम शमशेर राज कपूर र शशी कपूरको वास्तविक नाम बलवीर राज कपूर थियो । उनीहरू स्क्रिन नेमले नै सुपरहिट भए । देवानन्दको वास्तविक नाम धर्मदेव पिशोरीमल आनन्द थियो । त्यस्तै गुरु दत्तको वास्तविक नाम वसन्त कुमार शिव शंकर पादुकोणे थियो । बलराज साहनीको वास्तविक नाम युधिष्ठिर साहनी थियो ।  अशोक कुमारका भाइ किशोर कुमारको वास्तविक नाम आभास कुमार गांगुली थियो । सुनिल दत्तको वास्तविक नाम बलराज दत्त, राज कुमारको वास्तविक नाम कुलभूषण पण्डित, राजेन्द्र कुमारको वास्तविक नाम राजेन्द्र तुली, मनोज कुमारको वास्तविक नाम हरेकृष्ण गोस्वामी, धर्मेन्द्रको वास्तविक नाम धरम सिंह देओल, जीतेन्द्रको वास्तविक नाम रवि कपूर, सञ्जीव कुमारको वास्तविक नाम हर जेठालाल जरीवाला, राजेश खन्नाको वास्तविक नाम जतिन खन्ना थियो ।

त्यस्तै, मिथुन चक्रवर्तीको वास्तविक नाम गोरांगो चक्रावर्ती, डेनीको वास्तविक नाम तेशरिंग फिसन्तो डेंजोंग्पा, नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर, सन्नी देओलको वास्तविक नाम अजय सिंह देओल, बबी देओलको वास्तविक नाम विशाल सिंह देओल, अजय देवगणको वास्तविक नाम विशाल देवगण र अक्षकुमारको वास्तविक नाम राजीव भाटिया हो ।

श्रीदेवीको वास्तविक नाम श्री अम्मा येंगर अयप्पन, जया प्रदाको वास्तविक नाम ललित रानी हो ।  दिलीप कुमारबाहेक अन्य धेरै मुस्लिम कलाकारले पनि हिन्दु नाम अपनाएका छन् । यसमध्ये सबैभन्दा चर्चित अभिनेत्री मिना कुमारीको वास्तविक नाम महजन्बी बानो थियो । त्यस्तै, मधुवालाको वास्तविक नाम मुमताज जहाँ देहलवी थियो ।

दक्षिण भारतका सुपरस्टार रजनीकान्तको वास्तविक नाम पनि शिवाजी राव गायकवाड हो । स्क्रिन नेम राख्ने चलन फिल्म दुनियाँमा सधैँ सही ठहरिदैं आएको छ ।

दिलीपकुमारभन्दा पहिले पनि यो देखिएको थियो र त्यसपछि पनि धेरै सेलिब्रेटीहरुले स्क्रिन नेमलाई अपनाए । कसैले स्टारडमका लागि त कसैले स्टाइलिश र आधुनिक देखिने चाहनाले यस्तो गरे ।

बीबीसी हिन्दी

 

 

प्रकाशित : २०७८ असार २४ गते ०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI