सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री बाटोको यात्रा गरेर गिद्धेनीपोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म पुगेर फर्किंदा करिब ५५ किलोमिटरको सफारी हुने अध्यक्ष धितालले बताउनुभयो ।
गैँडाकोट नगरपालिका–१७ को रु पाँच लाख सहयोग र होटल व्यवसायीहरुको रु १६ लाखको लगानीमा पर्यटन मार्ग निर्माण गरिएको हो । निकुञ्जभित्र जङ्गल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एकसिङ्गे गैँडा धेरै सङ्ख्यामा देख्न सकिने अध्यक्ष धितालले बताउनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मीसहितको सहभागितामा बिहीबार यही रुटबाट पहिलो पटक गरिएको जङ्गल सफारीका क्रममा १४ एकसिङ्गे गैँडा फेला परेका थिए । धेरै मात्रामा एक एकसिङ्गे गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकन गर्न इच्छुक पर्यटकका लागि उद्घाटन गरिएको पर्यटन मार्ग उत्कृष्ट मार्ग भएको र यो मार्गले निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्नसमेत उल्लेख्य सहयोग पु¥याउने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।
गत पुसमा नवलपुरकै देवचुलीमा रहेको दिव्य सामुदायिक वनबाट निकुञ्जभित्र सफारीका लागि पर्यटन मार्ग निर्माणको काम अगाडि बढाइएको छ भने पर्यटकीय क्षेत्र अमलटारीबाट गत माघबाट निकुञ्जभित्रको ‘कोर’ क्षेत्रमा जङ्गल सफारी गर्न निकुञ्जले अनुमति दिएको थियो । यसअघि दुई होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र नवलपुरबाट निकुञ्जभित्र सफारीको अनुमति पाएका थिए भने अन्य होटल तथा घरबासले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जङ्गल सफारी गराउँदै आएका थिए ।
नवलपुरबाट निकुञ्जभित्र लामो दूरीको जङ्गल सफारी सुरु हुने भएपछि यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छ्न । बिहीबार सुरु गरिएको जङ्गल पर्यटन मार्ग देशकै दोस्रो लामो मार्ग भएको दाबी गरिएको छ । रासस
Facebook Comment