नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १३ गते १२:४६
फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित् कालसम्मका लागि स्थगित भएको छ । बैठकमा पेश गरिने प्रस्ताव तयार नभएको भन्दै बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पार्टीको आन्तरिक विवादका विषयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन बाँकी रहेकाले थप परामर्शका लागि बैठक स्थगित गरिएको भनिएको छ ।

त्यस्तै, यसअघि बसेको नेकपाको सचिवालय बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पनि बैठक स्थगित गरिएको सल्लाहकार थापाले जानकारी दिनुभयो। बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो । गत असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक १८ गतेपछि बस्न सकेको छैन ।

पटकपटक गरी बैठक स्थगित गरिँदैआए पनि दुई अध्यक्षबीच भने वार्ता र संवाद जारी छ । पछिल्लो सात दिनको समयमा दुई अध्यक्षबीच एक पटक गत शुक्रबार वार्ता भएको थियो । सोपछि दुई अध्यक्षबीच संवाद हुन सकेको छैन । दुवै अध्यक्षले आफ्नो पक्षका नेताहरूसँग समूह (गुट) भेला गर्दै आउनुभएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि विवाद चुलिएको हो । स्थायी कमिटी बैठक शुरु भएको महिना दिनभन्दा बढी समय व्यतीत भएपनि दुई अध्यक्षबीच सहमति हुन नसक्दा स्थायी कमिटी बैठक अन्यौलमा पर्दैगएको छ । 

प्रकाशित : २०७७ साउन १३ गते १२:४६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI