दाउन्ने खण्ड वर्षा अगाडी कालोपत्र नहुने भए पछि हिलो र जामको समस्या आउँदो वर्षामा पनि दोहोरिने

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख २४ गते १९:१०
दाउन्ने खण्ड वर्षा अगाडी कालोपत्र नहुने भए पछि हिलो र जामको समस्या आउँदो वर्षामा पनि दोहोरिने

कावासोती । नारायणघाट बुटवल सडकको दाउन्ने पहाड अन्तर्गतको करिब १६ किलो मिटर सडक तत्काल कालोपत्र नहुने भए पछि हिउँद भरी धुलोले समस्या व्यवहोरेका दाउन्ने भएर यात्रा गर्ने यात्रुले आउदो वर्षाको समयमा हिलोको र सडक जामको सास्ती बेहोर्नु पर्ने भएको छ ।

आयोजनाको सबै भन्दा जोखिम पुर्ण क्षेत्रको रुपमा रहेको दाउन्ने खण्डको १६ किलोमीटर क्षेत्रमा ग्रयाबल गरेर अस्थायी नाली बनाउने गरेर निर्माण कम्पनी अगाडी बढेको आयोजना निर्देशनालयको पुर्वी खण्डको कार्यालय गैंडाकोटले जनाएको छ ।

आयोजनाको गैंडाकोटमा रहेको पुर्वी खण्ड हेर्ने कार्यालयका अनुसार २०२४ को अप्रिल महिना सम्म ५०.६२ किलोमिटर भएको छ । यस खण्डमा ३७ किलोमिटर एकतर्फी र १२.३३ किलोमिटर दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । २१ वटा साना पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । ८ वटा ठूला पुल निर्माण अन्तिम चरणमा छ । यस खण्डमा १६३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । अप्रिल २०२४ मा मात्र ७.२८ किलोमिटर एकतर्फी कालोपत्रे गरिएको छ ।

यो सडक खण्डमा अझै आशातीत प्रगति हुन नसकेको समेत आयोजना निर्देशनालयले स्वीकार गरेको छ । यो सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । यस सडक आयोजनामा गैंडाकोटबाट दाउन्नेसम्म ६४.४२ किलोमिटर र दाउन्नेबाट बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिम खण्डका रुपमा विभाजन गरी काम भइरहेको छ । यस खण्डमा घुम्ती र उकालो सडक भएकाले दाउन्ने खण्ड सबैभन्दा जोखिमपूर्ण मानिन्छ । त्यसमाथि हिलो र धुलोमा गाडी फस्दा यात्रुले ठूलो सास्ती भोग्दै आएका छन् ।

प्रकाशित : २०८१ वैशाख २४ गते १९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI