चितवनमा एक हप्ता निषेधाज्ञा थपियो: के के खुल्ने के के बन्द हुने ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते १८:३३
चितवनमा एक हप्ता निषेधाज्ञा थपियो: के के खुल्ने के के बन्द हुने ?

चितवन। चितवनमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । वित्तिय संस्था आलोपालो र सरकारी कार्यालय आन्तरीक कामका लागि निश्चित समय मात्र खुल्नेगरी जिल्ला प्रशासन कार्यालय चितवनले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

चितवनमा कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भदौ १९ गते राती १२ बजेसम्मका लागि जिल्लामा निषेधज्ञा थप गरिएको प्रजिअ भट्टराईले बताउनुभयो ।

यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई केही खुकुलो बनाएको छ । सरकारी कार्यालय र वित्तीय संस्था दैनिक केही घण्टा बैंक संचालन गर्ने निर्णय प्रसासनले गरेको छ ।

५० प्रतिशत मात्र कर्मचारी उपस्थित हुनेगरी सरकारी कार्यालयहरुबाट आन्तरीक काम गर्ने, आलोपालो प्रणाली अनुसार ५० प्रतिशत मात्र कर्मचारी हुनेगरी विहान १० वजेदेखि १ वजेसम्म वित्तिय संस्था(मनिटान्सफर र सहकारी समेत)संचलान गर्न पाउने,उद्योग भित्रै क्वारिन्टन बनाई काम गर्न पाउने,अत्यावस्यक सेवा सञ्चालन गर्न पाउनेगरी नषेधाज्ञा थपिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो ।

यस अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा निषेध गरिएको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्यलगायत अन्य पसल खुला रहने छन् ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

प्रकाशित : २०७७ भदौ १२ गते १८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI