अब एक हजारमै कोरोना परिक्षण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २७ गते १७:२५
अब एक हजारमै कोरोना परिक्षण

काठमाण्डाै – सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताउनुभयो । उहाँले परीक्षणको यो रकम समयानुकुल समायोजन हुँदै जाने पनि बताउनुभयो ।

सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर दुई हजारमा झारिएको थियो ।

यस्तै प्रवक्ता गाैतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो ।

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न/गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ असोज २७ गते १७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI