पाठ्यक्रम टुंगो नलाग्दा कक्षा ११ को पठनपाठन अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २५ गते ८:०९
पाठ्यक्रम टुंगो नलाग्दा कक्षा ११ को पठनपाठन अवरुद्ध
काठमाडौं । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन ।

गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो । विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम (नयाँ वा पुरानो) टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनुपरेको छ ।

सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न÷गराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो ।

असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार पारी कार्यान्वयन गर्न दबाब दिएर हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । पटकपटक गरी चारपटक पेसी चढ्दा पनि अन्तिम फैसला हुन सकेको छैन । अर्को पेसी यही पुस २७ गते तोकिएको छ ।

पाठ्यक्रममा विवाद उत्पन्न हुनुको अर्को कारण गणित विषय हटाउनु पनि हो । ‘कोरोना कहरका कारण यस वर्ष कक्षा ११ को पठनपाठन असोजदेखि मात्र सुरु भएको हो,’ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले विज्ञानबाट गणित विषय हटाएपछि विवाद उत्पन्न भएको हो । जसका कारण कक्षा सञ्चालनको चार महिना हुँदासमेत नयाँ वा पुरानो कुन पाठ्यक्रमअनुसार विषयवस्तु पढाउने भन्ने अन्योल छ । नयाँ र पुरानो पाठ्यक्रमको विषयवस्तु पनि निकै फरक छन् । खै कसरी पढाउने ? विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन् ।’ एक त कोरोना संक्रमणको उच्च जोखिम, त्यसमाथि समयमै पढाइ थाल्ने वातावरण नहुनु, फेरि नयाँ वा पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने अन्योल हुँदा आधा शैक्षिक सत्र बित्नै लागिसकेकाले अब सरकारले छिटै निकास दिनुपर्ने शिक्षकहरूको माग छ ।

विज्ञान समूहबाट अनिवार्य गणित हटाएर ऐच्छिक बनाएर नयाँ पाठ्यक्रम तयार पारिएकाले विरोधमा गणित शिक्षकहरू उत्रेकाले पनि समस्या खडा भएको प्रधानाध्यापक कँडेलको भनाइ छ । ‘पुरानो पाठ्यक्रमअनुसार कक्षा ११ मा विज्ञानका सबै विद्यार्थीले गणित पढ्न पाउँथे तर नयाँअनुसार कक्षा ११ बाटै गणित हटाएर विज्ञानलाई अपुरो बनाउने काम भयो,’ उनले भने, ‘जीवनोपयोगी तथा सामाजिक शिक्षामा व्यावहारिक, प्रयोगात्मक तथा समसामयिक विषयवस्तु समेटिएको भए पनि गणितबिनाको विज्ञान अपुरो नै हुन्छ ।

त्यही भएर सरकारले निर्णय सच्याएर समस्याको समाधान गर्नुपर्छ ।’ नेपाल गणित समाजका सहसचिव डा जीवन काफ्लेले नयाँ र पुरानो पाठ्यक्रमबीच धेरै भिन्नता रहेको बताए । उनले जीव विज्ञानका विद्यार्थीका लागि गणित विषय बन्देज गरी बनाइएको नयाँ पाठ्यक्रमले विज्ञानमा कमजोर जनशक्ति उत्पादन गर्ने औंल्याए । यस्ता जनशक्ति विश्वबजारमै बिक्न चुनौती थपिने उनको तर्क छ । कक्षा ११ बाटै विज्ञानका विद्यार्थीले गणित पढ्न नपाउने व्यवस्थाले ती उत्पादित जनशक्तिमा अनुसन्धान र विश्लेषण गर्ने क्षमतामै कमी आउने उनको ठहर छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७७ पुष २५ गते ८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI