किन हुँदैछ कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १५ गते १४:५६
किन हुँदैछ कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन सम्बन्धी कार्य अन्तिम चरणमा पुरयाएको छ ।

यसअघि बोर्डले गत साताभित्रै नतिजा प्रकाशन गर्ने भनेको थियो । तर सम्बन्धित विद्यालयले पठाएको प्राप्तांक र विद्यार्थीको हाजिरी कपी रुजू गर्न समय लागेकोले अनुमान गरेको समयमा नतिजा प्रकाशन गर्न नसकिएको बोर्डले स्वीकार गरेको छ ।

बोर्डका अनुसार विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम सकिएको छ । विद्यार्थीको हाजिरीकापी रुजु गर्ने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

अहिलेको कामको गति अनुसार प्रक्रिया अघि बढेमा दुई दिनभित्रै नतिजा सार्वजनिक गर्न सकिने बोर्डको भनाइ छ । कोभिड १९ का कारण कक्षा १२ को परीक्षा सञ्चालनको जिम्मेवारी यसपटक बोर्डले सम्बन्धित विद्यालयलाई नै दिएको थियो । बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो ।

त्यसबाहेक ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन गरेर र २० प्रतिशत विद्यालय आफैले मूल्यांकन गरेर दिनसक्ने निर्णय बोर्डले गरेको थियो । तर विद्यालयबाट प्राप्त नतिजा क्रमवद्ध रुपमा नआएकोले डाटा इन्ट्री गर्न तथा रुजू गर्न समस्या हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको यसअघि नै बोर्डले स्वीकार गरिसकेको छ ।

बोर्डले यसअघि पुस महिनाभित्रमा कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने योजना बनाएको थियो । कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए । ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो । सबै केन्द्रको हाजिरी रुजु गर्नुपर्ने भएकोले समस्या भएको हो ।-अन्नपूर्णपोस्ट बाट

प्रकाशित : २०७७ माघ १५ गते १४:५६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI