कविता : अब मलाई निभ्न देऊ

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २४ गते ९:५२
कविता : अब मलाई निभ्न देऊ

राधा पाण्डे- 

आफैचुलो
आफै दाउरा बनेर
दनदन बलिरहें
समयका सबै सेकेन्ड ,मिनेट र घण्टाहरु
ननिभि किन बलें

बनेर आफै परिकार
भकभक पाकिरहें
घरि दाना पाकें
घरि पानी भल्किएँ म

समयका घाम छायामा
घरि तावा बन्नु पर्छ
घरि रोटी बन्नु पर्छ
दालभात त छदैछ
कुनै छाक खिचडी बन्नु पर्छ

म भोकाउनु हुँदैन
तिर्खामा पनि अागो घटघटी पिउनु पर्छ
सबै सहेर म बलिरहनु पर्छ

कुनै कुनै दिन
मनका चाहानाहरु
सल्कन नमानेर पुत्ताउँछन्

नाक कान र अाँखाबाट
धुँवाको मुश्लो बनेर
निस्कन्छन् ईच्छाहरु
तब
आँगनभरी धुँवा धुँवा हुन्छ

फेरि पनि म सल्कन
फेरि पनि बल्न र पाक्न
खुसीका झिँजा झिँजिहरुसंग
प्रयास गरिरहें

गजबसंग चिसिएछन्
चाहानाहरु
बल्न नमानेर ईच्छाहरु
निस्किएको धुँवाले
कति प्रदुषण बढायो कति

सधैं म मेरा चाहानाहरु अँगेनामा जोडेर
प्रदुषण गराउँन चाहादिनं
ए समय !
अब मलाई निभ्न देऊ

 

गैंडाकोट-१६ नवलपुर

प्रकाशित : २०७७ फागुन २४ गते ९:५२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI