चन्द्रमामा किन पठाइँदैछ लाखौँ वीर्य र अण्डा ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते २१:४५
चन्द्रमामा किन पठाइँदैछ लाखौँ वीर्य र अण्डा ?

वैज्ञानिकहरुले चन्द्रमामा बस्ती बसाउने योजना बनाएका छन् । बस्ती बसाउनका लागि उनीहरुले मानव तथा अन्य जीवजन्तुका लाखौँ वीर्य र अण्डाका नमूना चन्द्रमामा पठाउने तयारी समेत गरिरहेका छन् ।

उक्त वीर्य बैंकमा एक करोड सात लाख बीस हजार प्रजातिका प्रजनन कोशिका, शुक्राणु तथा अण्डा राखिनेछ जसमा मानव शुक्राणु पनि सामेल हुनेछ ।

यी नमूनालाई एउटा विशेष बाकसमा राखिनेछ, जसको भण्डारण चन्द्रमाको सतहभन्दा मुनि गरिने वैज्ञानिकले बताएका छन् । हालै वैज्ञानिकले पत्ता लगाएको चन्द्रमाको गहिरो खाडलमा यी नमुनाहरू भण्डारण गरिनेछ । यसलाई एउटा आधुनिक विश्व बीमा नीतिको रुपमा हेरिनुपर्ने पनि वैज्ञानिकको भनाइ रहेको छ ।

पृथ्वीमा भैरहेको जलवायु परिवर्तन तथा अन्य प्राकृतिक विपत्ले कतै मानिसको समूल नै नष्ट हुने हो कि भन्ने डर वैज्ञानिकलाई  रहेको छ । यसकारण पनि वैज्ञानिकहरु मानव प्रजातिलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा काम गरिरहेका छन् ।

यसै सन्दर्भमा उनीहरुले भविष्यमा मानव भ्रुण सुरक्षित राख्ने स्थानका रुपमा चन्द्रमालाई लिएका छन् । चन्द्रमामा वीर्य बैंक स्थापना गरेर मानवता जोगाउने कार्यमा वैज्ञानिकहरु लागि परेका छन् ।

खासमा यो प्रस्ताव एरिजोना युनिभर्सिटीको टीमले दिएको हो । जसका प्रमुख इन्जीन जिकन थांगा हुन् । उनी अन्य पाँच वैज्ञानिकसँगै यस अनुसन्धान टिमका सहलेखक समेत हुन् । उनको टिमले दिएको रिर्पोटअनुसार उक्त ‘लुनर जीन बैंक’मा मानिस तथा अन्य जीवजन्तुको वीर्य सुरक्षित राखिनेछ ।

वैज्ञानिकका अनुसार चन्द्रमामा जहाँ ज्वालामुखी विष्फोट भएर अर्बौं वर्ष पहिले लावाको नदी बग्ने  गर्थ्यो त्यहीँ वीर्य सुरक्षित राखिनेछ । किनकि चन्द्रमाको यो स्थानलाई वैज्ञानिकले वीर्य सुरक्षित राख्ने उपयुक्त स्थानका रुपमा लिएका छन् ।

यस्ता खाडल जमिनबाट असीदेखि सय मिटर गहिरा छन् भने चन्द्र सतहले यसलाई एक प्रकारको सुरक्षा प्रदान गर्ने गर्छ । यस्ता खाडलहरू तापक्रममा हुने परिवर्तनका अलावा उल्कापिंड तथा अन्तरिक्षबाट आउने विकिरणबाट समेत सुरक्षित मानिन्छ ।

प्रकाशित : २०७७ चैत ३ गते २१:४५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI