चुरे दोहन प्रकृतिविरुद्धको अपराध र तराई–मधेस क्षेत्रलाई मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १९ गते २०:४०
चुरे दोहन प्रकृतिविरुद्धको अपराध र तराई–मधेस क्षेत्रलाई मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिको विरोध गर्नुभएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गरेर सभापति देउवाले चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको भन्दै टिप्पणी गर्नुभएको छ ।

त्यस्तै, देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बजेट वक्तव्यमार्फत् चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नीतिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ । विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् ।’

त्यस्तै, उहाँले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती नभई प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको थियो । ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको थियो ।’

उक्त नीति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै भएको उहाँको ठहर छ ।

देशले बर्सौंदेखि ब्यापार घाटा ब्यहोरिरहेको भएतापनि त्यसलाई न्यून गर्न तथा सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य नहुने उहाँले भनाइ छ ।

प्रकाशित : २०७८ जेठ १९ गते २०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI