सामाजिक सञ्जाल : हरेकसँग छन् औषत ८ वटा अकाउन्ट

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १६ गते २१:४२
सामाजिक सञ्जाल : हरेकसँग छन् औषत ८ वटा अकाउन्ट

काठमाडौं । ससाना बालबालिका हुन् वा वयष्क अथवा बृद्ध, अहिलेको समयमा सबै सामाजिक सञ्जालमा जोडिएका छन् । सामाजिक सञ्जाल सबैको दैनिकीको एउटा अभिन्न हिस्सा बनिसकेको छ ।

तर कतिपयलाई थाहा नहुन सक्छ, हरेक वर्ष ३० जुनका दिन सामाजिक सञ्जाल दिवसको रुपमा मनाउन थालिएको छ । अहिले यो सञ्चारको मुख्य साधन भइसकेको छ ।

सामाजिक सञ्जालले ब्राण्ड तथा प्रभावशाली व्यक्तिलाई विश्वका हरेक कुनाकाप्चामा रहेका मानिसहरुबीच आफूलाई स्थापित गर्न सहयोग गर्नेदेखि पत्रकारहरुलाई महत्वपूर्ण समाचार गतिविधि समेट्न समेत सहज बनाइरहेको छ । अर्को अर्थमा अहिले सामाजिक सञ्जाल ‘गेम चेञ्जर’ नै बनेको छ ।

यसले गर्दा नै विश्वको हरेक कुनामा रहेका व्यक्तिहरुलाई आपसमा जोडिन सम्भव बनेको छ र जुन एउटा क्लिकभन्दा धेरै परको विषय होइन । सामाजिक सञ्जाल लोकप्रिय भएसँगै व्यक्तिगत सुरक्षामा समेत यसले असर पार्न थालेको छ । सामाजिक सञ्जालहरु आफ्ना प्रयोगकर्ताको डेटा सुरक्षाका लागि संघर्षरत छन् ।

यति मात्र होइन, मानसिक स्वास्थ्यमा पार्ने प्रभाव, घृणास्पद अभिव्यक्ति, निर्वाचन परिणाम, फेक न्युजका साथै पारदर्शिता जस्ता विषयले उनीहरु निकै दबाबमा पर्ने गरेका छन् । सोसल मिडिया डेको इतिहासः विश्व सामाजिक सञ्जाल दिवस पहिलो पटक माशाबेलले विश्व सञ्चारमा यसले पार्ने प्रभावकको विषयमा केन्द्रीत रहेर ३० जुन २०१० मा मनाएको थियो ।

माशाबेल सामाजिक सञ्जालको प्रयोगमार्फत विविध किसिमका संस्कृति, आन्दोलन, प्रसंसक आदिलाई जोड्ने कार्यका लागि परिचित छ । सुरुवाती समयमा सञ्चार तथा अन्तरक्रियाका लागि फ्रेण्डस्टर, माइस्पेस, फेसबुक प्रयोग हुने गरेकोमा अहिले भने ट्वीटर, इन्स्टाग्राम, लिङ्क्डइन, स्नापच्याट समेत निकै नै प्रयोगमा छन् ।

अहिले आएर सामाजिक सञ्जाल दिवस विश्वभर यसको महत्व र यसले हाम्रो दैनिक जीवनमा कसरी प्रभाव पारिरहेको छ भन्ने विषयमा मनाउन थालिएको छ । एउटा म्यासेजिङ एपको मद्दतमा हजारौं माइल टाढाको व्यक्ति क्षणभरमै सम्पर्कमा आउन सक्छ । यसले मानिसहरुबीच सम्बन्ध बनाउन र आफ्ना ग्राहकसँग जोडिन तथा ब्राण्डको विज्ञापनमा निकै महत्व राख्ने गरेको छ ।

यही मौकामा आज हामी सामाजिक सञ्जालसँग सम्बन्धित केही रोचक तथ्यको विषयमा समेत चर्चा गर्दैछौं । अहिलेको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक आउनुभन्दा १३ वर्ष अघि नै सामाजिक सञ्जाल आएको हो । जसलाई सिक्सडिग्रीको नामले चिनिन्थ्यो । १९९७ मा सार्वजनिक भएको उक्त सामाजिक सञ्जालका संस्थापक एन्ड्र्यु विनरिच हुन् ।

उक्त सामाजिक सञ्जाले परिवार तथा साथीभाइसँग जोडिने मौका दिन्थ्यो । त्यसमा बुलेटिन बोर्ड, स्कुल एफिलियसन र प्रोफाइल जस्ता फिचर थिए । हाल सामाजिक सञ्जालमा मानिसहरुले दैनिक औषत ३ घण्टा खर्चिरहेका हुन्छन् ।

विश्वभर सामाजिक सञ्जालका करिब तीन अर्ब ७३ करोड प्रयोगकर्ता छन् । जसमा एक जना व्यक्तिको औषत ८ वटा सामाजिक सञ्जाल अकाउन्ट छन् । त्यस्तै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालमा हरेक दिन करिब पाँच लाख नयाँ प्रयोगकर्ता थपिने गर्दछन् ।

यसैगरी हरेक सेकेन्डमा ६ वटा नयाँ प्रोफाइल बन्छन । त्यसो त फेसबुकमा मात्र २७ करोड फेक अकाउन्ट छन् । फेसबुकका सबैभन्दा धेरै प्रयोगकर्ता अमेरिकामा छन् । फेसबुक प्रयोगकर्ताका औषत १५५ फ्रेन्ड हुन्छन् ।

फेसबुकमा सबैभन्दा लोकप्रिय सेलिब्रेटी फुटबलर क्रिष्टियानो रोनाल्डो हुन् । उनका १२ करोड २६ लाख फलोअर छन् । फेसबुकमा मात्रै प्रयोगकर्ताले दैनिक औषत ३५ मिनेट समय व्यतित गर्छन् ।

त्यसैगरी फेसबुकमा छ करोड पेज बनेका छन् । फेसबुकमा दैनिक औषत ८ अर्ब भिडिओलाई ५० करोड प्रयोगकर्ताले हेरिरहेका हुन्छन् ।

प्रकाशित : २०७८ असार १६ गते २१:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI