अब केही दिन साउने झरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते ८:५६
अब केही दिन साउने झरी

काठमाडौँ। अबको केही दिन साउने झरी दर्कने भएको छ । आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् निराजन सापकोटाका अनुसार देशका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ । कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अर्काे तीन–चार दिन घाम पानीसँगै साउने झरीको अवस्था रहनेछ । ” मनसुनी वायु पूर्वी भेगबाट नेपाल भित्रने भएकाले पूर्वी र मध्य भेगमा वर्षाको क्रम पश्चिमको तुलनामा बढी भएको अनुमान गरिएको छ तर पश्चिम भेगमा भने हालसम्म २५ प्रतिशत पनि वर्षा हुन नसकेको उहाँले बताउनुभयो । अबको चार दिनको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि तीन–चार दिन साउने झरी पर्ने सम्भावना औँल्याइएको छ ।

प्रकाशित : २०७८ साउन १४ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI