कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन मिति तोक्ने चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २८ गते ८:२८
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन मिति तोक्ने चुनौती

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्य तालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।

कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । सो कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो । क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्य तालिका प्रभावित भइसकेका छन् । तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्य तालिका बारेमा छलफल हुने बताइएको छ ।

बुधवार कांग्रेसका शीर्ष नेताहरुबीच सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको महाधिवेशनको नयाँ मितिबारेको छलफलमा भदौमा नभएर मङ्सिरमा प्रक्रिया सुरु गर्ने प्रस्ताव आएको हो ।

‘संस्थापन पक्षबाट अहिले सारेर पनि भदौमा महाधिवेशन हुन सक्ने अवस्था नहुने भनाइ आयो, मङ्सिरमा स्थानीय तहका अधिवेशन सकेर माघमा केन्द्रीय महाधिवेशन गरौं भन्ने उहाँहरूको आशय थियो,’ बैठकमा सहभागी संस्थापन इतर पक्षका एक नेताले हाम्राकुरासँग भने ।

तर महाधिवेशन धेरै पर धकेल्ने पक्षमा भने नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहमत देखिएका छैनन् । उनीहरूले भदौमा नै प्रक्रिया थाल्नु पर्ने भनेका छन् । कहिलेलाई सार्ने र कुन मितिमा सुरु गर्ने भन्ने विषयमा भने बुधवार कुनै निष्कर्ष ननिस्किएको ती नेताले जानकारी दिए ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो । विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठुलो चुनौती छ ।

प्रकाशित : २०७८ साउन २८ गते ८:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI